आधारभूमि संवाददाता
काठमाडौं,कात्तिक २४
नेपालको आधिकारिक नाम संघीय लोकतान्त्रिक गणतन्त्र नै हुने भएको छ । प्रतिनीधि सभाको राज्य व्यवस्था समितिले नेपालको आधिकारिक नाम फेर्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको छ।
सोमबार सिंहदरवारमा बसेको समितिको बैठकले नेपालको आधिकारिक नामबाट संघीय लोकतान्त्रिक गणतन्त्र हटाउन नहुने निर्णय गरेको हो । सरकारले नेपालको आधिकारिक नामबा संघीय लोकतान्त्रिक गणतन्त्र लाई नेपाल मात्र बनाउने निर्णय गरेको थियो ।
सरकारको सो निर्णय अनुपयुक्त भएको समिति सदस्यहरूको रायसुझाव आएकाले सो निर्णय कार्यान्वयन नगर्न राज्य व्यवस्था समितिले सरकारलाई निर्देशन दिएको समिति सभापति शशि श्रेष्ठले जानकारी दिइन् ।
मन्त्रिपरिषद् बैठकले गत असोज ११ गते नेपालको आधिकारिक नाम संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल बाट संघीय लोकतान्त्रिक गणतन्त्र हटाएर नेपाल मात्र बनाउने निर्णय गरेको थियो।
तर सांसदहरुले सरकारले संविधानको मर्मविपरीत आधिकारिक नामबाट संघीय लोकतान्त्रिक गणतन्त्र हटाएको भन्दै सार्वजनिक रूपमा विरोध गरेका थिए ।
तथापि सांसदहरू विजय सुब्बा र नवराज सिलवालले भने संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको शासन पद्धति भएको भन्दै देशको आधिकारिक नाममा यी शब्द समावेश गर्न उचित नभएको तर्क गरेका थिए।
समितिले सोमबार परराष्ट्रमन्त्रीसँग देशको नाम लेख्दा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको साटो नेपाल मात्र लेख्ने मन्त्रिपरिषद्को निर्णयबारे छलफल गरेको थियो ।