काठमाडौँ, २३ कात्तिक /रासस
काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा रहेका सबै सहकारीलाई आगामी पुस मसान्तभित्र साधारणसभा सम्पन्न गर्न आग्रह गरेको छ । कामपा सहकारी विभागले उक्त मितिसम्ममा साधारणसभा सम्पन्न गरी त्यसको १५ दिनभित्र प्रतिवेदन ल्याउन आग्रह गरेको हो ।
कोरोना भाइरसका कारण धेरै सहकारीले साधारणसभा गर्न बाँकी रहेको अवस्थामा सहकारीहरुलाई स्वास्थ्य मापदण्ड पालना गर्दै साधारणसभा सम्पन्न गर्न यस किसिमको आग्रह गरिएको विभागका उपनिर्देशक सुमन अधिकारीको भनाइ छ । सहकारीहरुले साधारणसभा (कार्यव्यवस्था निर्देशिका, २०७६) बमोजिम गणपूरक सङ्ख्या पु¥याएरमात्र साधारणसभा गर्नुपर्नेछ ।
हाल कामपामा सञ्चालनमा रहेको एक हजार ८५६ सहकारी घटाएर ७०० बनाउने कामपाको लक्ष्य रहेको छ । यसरी सहकारीलाई एकीकरण गर्नका लागि पनि साधारणसभा आवश्यक पर्छ । सहकारी ऐन, २०७४ र कामपाको सहकारी ऐन, २०७४ अनुरुप कानूनीरूपमा नै एकीकृत गर्न सकिने व्यवस्था छ । सहकारीलाई एक बनाउन दुई सहकारी एकअर्कामा एकीकृत हुन तयार रहनुपर्छ ।
एकीकृत हुन चाहने दुईवटै सहकारीले कामपाको सहकारी विभागमा निवेदन दिनुपर्छ । त्यसपछि कामपाले थप प्रक्रिया अघि बढाउने छ । सहकारी गाभ्न कामपाको चाहनाले मात्र नहुने हुँदा सञ्चालकले इच्छा राख्नुपर्दछ । समान प्रकृतिका सहकारी एकापसमा गाभ्न सकिने छ । कामपामा सबैभन्दा बढी बचत तथा ऋण सहकारी एक हजार ६४४, बहुद्देश्यीय १५६ र विषयगतअन्तर्गत उपभोक्ता, दुग्ध, कृषि, शिक्षा, सञ्चारलगायत सहकारी छन् । संवैधानिक व्यवस्थाअनुसार १ साउन ०७५ सालदेखि देशका सबै डिभिजन सहकारी कार्यालय खारेज भई सम्बन्धित स्थानीय तहले सहकारी नियमन गर्नुपर्ने व्यवस्था रहेको छ ।