neapl investment mega bank

पत्रकार स्व बर्माको अन्त्येष्टि

Nov 6th, 2020

काठमाडौँ, २१ कात्तिक/रासस

राष्ट्रिय समाचार समिति(रासस) का धादिङका दिवङ्गत जिल्ला समाचारदाता सीतारामप्रसाद बर्माको आज पशुपतिमा अन्त्येष्टि गरिएको छ । उहाँप्रति अन्तिम श्रद्धाञ्जलिका लागि नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता राजेन्द्रप्रसाद पाण्डे, नेपाली कांग्रेसका नेता दिलमान पाख्रिन, कांग्रेस धादिङका सभापति रमेश धमला, नेपाल प्रेस काउन्सिलका कावा अध्यक्ष गोपाल बुढाथोकी, नेपाल पत्रकार महासङ्घ धादिङका अध्यक्ष नवराज छत्कुलीलगायत काठमाडौँ र धादिङका पत्रकार पशुपति पुग्नुभएको थियो ।

स्व बर्मालाई उहाँका सुपुत्र मिलनले दागबत्ती दिनुभएको थियो । पत्रकार बर्माको उपचारका क्रममा आजै बिहान ७९ वर्षका उमेरमा निधन भएको हो । किष्ट मेडिकल कलेज ग्वार्को ललितपुरमा उपचाररत बर्मा उच्च रक्तचाप र निमोनियाबाट पीडित हुनुहुन्थ्यो । उहाँले कोरोनाबाट भने विजय प्राप्त गर्नुभएको जनाइएको छ ।

नेपाल पत्रकार महासङ्घ धादिङका संस्थापक सभापति बर्माले नेपाल प्रेस काउन्सिलबाट प्रेस स्वतन्त्रता सेनानी सम्मान पाउनुभएको थियो । करीब तीन दशकदेखि राससमा कार्यरत उहाँ सो संस्थाबाट पनि सम्मानित हुनुभएको थियो । गोरखा पुख्र्यौली थलो भई धादिङलाई कर्मथलो बनाउनुभएका बर्माका श्रीमती, एक छोरा र तीन छोरी हुनुहुन्छ ।