काठमाडौ, कात्र्तिक २०
प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा यही कार्तिक १९ गते तीनदिने नेपाल भ्रमणमा आएका मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल एम एम नरवणे आज कार्तिक २० गते जङ्गी अड्डामा आयोजित विभिन्न कार्यक्रमहरुमा सहभागी भएकाछन ।
आज बिहान सैनिक मञ्चको वीर स्मारकमा पुष्पगुच्छा चढाई वीर शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्नु भएका जनरल नरवणेले जङ्गी अड्डामा सम्मान गारदको निरीक्षण गरेका थिए । उक्त अवसरमा उहाँले यसभन्दा अघि भ्रमणमा आउनु भएका अन्य विशिष्ट सैनिक पाहुनाहरु सरह जङ्गी अड्डा प्राङ्गणमा ओखरको बिरुवा रोपेकाछन ।
तत्पश्चात् प्रधान सेनापति महारथी पूर्णचन्द्र थापा र जनरल नरवणे बीच शिष्टाचार भेटवार्ता भएको थियो । उक्त भेटवार्ताका क्रममा नेपाली सेनाका प्रधान सेनापति र मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्षबीच आपसी हित र पारस्परिक सम्बन्धका विषयमा द्विपक्षीय छलफल भएको थियो । उक्त छलफलपछि भारतीय सेनाध्यक्ष जनरल नरवणेलाई नेपाली सेनाको इतिहास र वर्तमान भूमिकाहरुका बारेमा प्रस्तुतिकरण गरिएको थियो ।
भेटघाट पश्चात् जङ्गी अड्डामै आयोजित अर्को कार्यक्रममा, जनरल नरवणेले नेपाली सेनालाई विगतमा सम्पन्न नेपाल भारत बिचको द्धिपक्षीय सम्झौता र सुरक्षाकोमा बिषयमा भएको गु्रप मिटिङको निर्णय अनुसार, सहयोग स्वरुप दुइ वटा फिल्ड अस्पताल स्थापनाको लागि एम्बुलेन्स, उपकरणहरु तथा अन्य स्वास्थ्य सामग्रीहरुका साथै भेन्टिलेटरहरु समेत हस्तान्तरण गरेका थिए । नेपाली सेनाका तर्फबाट महारथी पूर्णचन्द्र थापाले पनि भारतीय सेनाको लागि नेपालमै निर्मित १ लाख थान मेडीकल मास्क र शान्तिको प्रतिक भगवान बुद्धको प्रतिमा हस्तान्तरण गरेका थिए ।
आज साँझ जनरल नरवणेलाई सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ ।
हेर्नुस् तस्वीर:














