सर्लाही, १९ कात्तिक /रासस
जिल्लाको बरथवाबाट छ जना जुवाडेलाई प्रहरीले जुवाको खालबाट पक्राउ गरेको छ । बरथवा नगरपालिका–६ का शम्भु सिंहको घरमा जुवा खेल भइरहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलीले सिंहसहित छ जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिनुभयो ।
प्रसिद्ध गोरु व्यापारी सिंह, बरथवा नगरपालिका–६ का रामप्रमोद महतो, बरथवा नगरपालिका–५ का महमदहसन कवारी, बरथवा नगरपालिका–७ का गोविन्द साह (दिनेश), सोही ठाउँका रामानन्द दास र बरथवा नगरपालिका–१६ का मनोज राय मङ्गलबार साँझ पक्राउ परेका प्रहरी नायब उपरीक्षक भाटले बताउनुभयो ।
जुवाको खालबाट पक्राउ परेका उनीहरुको साथबाट रु ६० हजार ९९५ नेपाली र भारु पाँच हजार २०० बरामद भएको प्रहरी नायब उपरीक्षक भाटले बताउनुभयो । गोरु व्यापारी सिंहले सर्लाहीदेखि झापासम्मका प्रहरीलाई मिलाएर गोरुको नाममा गाई निर्यात गर्ने गरेको समेत खुल्न आएको प्रहरीको अनुसन्धानले देखाएको छ ।
सिंहले कात्तिक ५ गते ना६ख ७६३९ नम्बरको ट्रकमा १८ वटा गाई र १३ वटा गोरु लोड गरी बाहिर निर्यातका लागि पठाएका थिए तर सामाजिक अभियानकर्मीले थाहा पाएपछि ट्रक नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय लालबन्दीको प्रहरीलाई बुझाएका थिए । प्रहरीले राजश्व कार्यालयमा बुझाएको बताएको छ । तराईको सबै प्रहरी अधिकृत इन्चार्जहरुसँग गोरु व्यापारी सिंहकोे राम्रो सम्बन्ध रहेकाले गोरु बजारहरुमा सङ्कलन केन्द्रको रूपमा ठेक्का लिने र गोरुको नाममा गाईको निर्यात गर्ने काम भइरहेको छ भने प्रहरी मौन देखिएको बताइएको छ ।