काठमाडौँ, ४ कात्तिक /रासस
हेलीको पुच्छे«ताराका कारण हुने मृगशिरा उल्कावर्षाको गतिविधि आज राति अत्यधिक देखिने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । यो पुच्छ्रेताराका कारण वर्षमा दुई उल्कावर्षा हुन्छन् । हेलीको पुच्छे«ताराले सूर्यलाई परिक्रमा गर्ने क्रममा छोडेका धुलोका कणका कारण प्रत्येक वर्ष मे महिनामा ‘एटा एक्वारीएट’ र अक्टोबरमा ‘ओरियनिड’ उल्कावर्षा हुने गर्छ ।
आजको उल्का वर्षाको स्रोत मृगशिरा (ओरायन) तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई मृगशिरा उल्कावर्षा (ओरियनिड मिटियर सावर) नाम दिइएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिनुभयो । अक्टोबर २ देखि आफ्नो सक्रियता देखाउने यो उल्कावर्षा नोभेम्बर ७ सम्म सक्रिय रहनेछ ।
उल्का वर्षाको अत्यधिक सक्रिय गतिविधि स्थानीय समयअनुसार अक्टोबर २० राति १०ः४५ देखि नै शुरु भई अक्टोबर २१ को बिहान ५ः४५ बजेसम्म देख्न सकिनेछ । उल्का वर्षा हेर्नको लागि मध्यरातपछिको समय उत्तम मानिन्छ । अत्यधिक उल्का वर्षाको बेला प्रतिघण्टा १५ वटासम्म उल्का देखिने अनुमान छ । ती उल्का वर्षाको गति प्रतिसेकेण्ड ६७ किमीसम्म हुने भएकाले करिब ७० किमी माथि वायुमण्डलमा घर्षण पैदा भई यस्तो दृश्य देखिने पनि उहाँले बताउनुभयो ।
के हो उल्कावर्षा
पुच्छ्रेताराले सूर्यको परिक्रमा गर्ने क्रममा सूर्यको नजिक आइपुग्दा आफ्नो कक्षमा धुलोका कण र चट्टान छोड्ने गर्दछ । पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा पुच्छ्रेताराको उक्त कक्षको नजिक आइपुगेका बेला धुलोका कण र चट्टान पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्दछन् । यसैलाई उल्का वर्षा भनिने सोसाइटीले जनाएको छ । उल्का वर्षालाई नेपाली जनजिब्रोमा ‘तारा खसेको’ पनि भनिन्छ ।
के हो हेलीको पुच्छ्रेतारा ?
बेलायती खगोलशास्त्री ‘एडमण्ड हेली’ ले न्युटनको गुरुत्वाकर्षणसम्बन्धी साध्यको माध्यमले सौर्य मण्डलका आकाशीय पिण्डको अध्ययन गर्ने क्रममा सन् १७५८ को क्रिसमसको रात यो पुच्छे«तारा पत्ता लगाएको हुनाले यसलाई हेलोको ‘पुच्छ्रेतारा ’ भनिएको हो । यो पुच्छे«ताराले हरेक ७५ वर्षमा सूर्यलाई परिक्रमा गर्छ । सन् १९८६ मा देखिएको यो पुच्छे«तारा अब सन् २०६१ मा देखिने अनुमान गरिएको अध्यक्ष भट्टराईले बताउनुभयो ।
यसरी हेरिन्छ उल्कावर्षा
उल्कावर्षा हेर्न कुनै दूरवीन वा टेलिस्कोप आवश्यक पर्दैन । नाङ्गो आँखाले नै उल्कावर्षा हेर्न सकिन्छ । उल्कावर्षा हेर्न धैर्यको आवश्यकता पर्छ । उल्कावर्षा हेर्दा खुल्ला आकाश छान्नुपर्छ । यसका लागि घरको छत वा घर अघिको कुनै खुल्ला ठाउँमा जान सकिन्छ । दुवै स्थानमा राति चिसो हुने हुँदा तातो कपडा लगाउन आवश्यक छ । घरबाहिर निस्कँदा सुरक्षाको पनि कुरा आउँछ । चिसो र अन्य किसिमको जोखिमबाट बच्दै उल्कावर्षा हेर्न सोसाइटीले आह्वान गरेको छ ।