neapl investment mega bank

कैलालीमा रासायनिक मलको चर्को अभाव

Oct 20th, 2020

टीकापुर, ४ कात्तिक /रासस

हिउँदे खेती गर्ने समयमा कैलालीमा रासायनिक मलको चर्को अभाव भएको छ ।

हिउँदे खेतीअन्तर्गत किसानले तोरी छर्ने र तरकारी लगाउने बेलामा आवश्यक पर्ने रासायनिक मलको चर्को अभाव भएको हो । उत्पादन बढी लिन बोटबिरुवालाई चाहिने आवश्यक रासायनिक मल हाल्नुपर्ने बेलामा मल नपाएपछि कैलालीका किसान यसका लागि भौतारिन थालेका छन् ।

बर्खे धानबालीमा रासायनिक मल हाल्न नपाएर उत्पादनमा ह्रास आएको हुनाले हिउँदे सिजनको बाली राम्रो उत्पादन लिने किसानका सपना मल अभावले अहिले पनि तुहिने सम्भावना बढेको छ । तोरी छर्ने बेलामा आवश्यक रासायनिक मल युरिया र डिएपी नपाउँदा उत्पादन नहुने हो कि भन्ने चिन्ता बढेको टीकापुर–१ का किसान सीता चौधरीले बताउनुभयो । “मल अभाव छ, खेती गर्ने बेलामा मल नपाए उत्पादन हुँदैन”, उहाँले भन्नुभयो, “मानिसले वस्तुभाउ पाल्न पनि छाडिसके, वस्तुभाउको मल पनि पाउन सकिँदैन । यस्तो बेला कसरी खेती गर्नु रु”

खेतीपाती गर्ने बेलामा रासायनिक मल अभाव झेलेको किसान हिउँदे खेतीका लागि पनि मल अभावमै खेती गर्नुपर्ने परम्परागत बाध्यताजस्तै बनिसकेको छ । हिउँदे बालीअन्तर्गत गरिने खेती र तरकारी बालीका लागि आवश्यक मात्रामा रासायनिक मल नपाउँदा हिउँदे बालीमा समेत उत्पादनमा कमी आउने टीकापुर–२ का रतनसिंह खड्काले बताउनुभयो । “बजारमा मल नै छैन, किसानका लागि आवश्यक मल, बीउ र सिँचाइ सहज पाए पो खेतीपातीमा मन लाग्छ ।”

सुभाष विकले विगतका वर्षमा खेतीका लागि आवश्यक मल भारतबाट ल्याउनुहुन्थ्यो । यस वर्ष सीमानाकामा कडाइ गरिएका कारण उहाँले पनि मल पाउनु भएन । “गतवर्ष सहजै भारतबाट मल ल्याइयो, यो वर्ष बर्खे खेतीका लागि पनि मल पाइएन”, उहाँले भन्नुभयो, “मैले त यस वर्ष मल नपाएकै कारण सबै खेतमा मसुरो छरेको छु । मसुरोका लागि मल नभए पनि खासै असर गर्दैन ।” विकले करिब एक बिघामा व्यावसायिक तरकारी खेती गर्नुहुन्थ्यो । यस वर्ष उहाँले आफूलाई खानका लागि मात्रै तरकारी लगाउने तयारी गर्नुभएको छ ।

कृषि सामग्री कम्पनी सुदूरपश्चिम प्रदेश कार्यालयमा अहिले युरिया र डिएपी मलको मौज्दात शून्य छ । कृषि सामग्री कम्पनीसँग ३०० टन पोटासबाहेक अन्य रासायनिक मलको मौज्दात नरहेकाले तत्काल किसानले मल पाउने सम्भावना कम रहेको कम्पनीको सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख नवलसिंह बोगटीले बताउनुभयो । “किसानले अहिले पाउने अवस्था छैन, हामीसँग युरिया र डिएपी मलको मौज्दात शून्य छ”, उहाँले भन्नुभयो, “किसानका लागि आवश्यक मल माग भइरहेकाले तोरी र गहुँ खेतीका लागि दशैँपछि मात्र युरिया र डिएपी मल उपलब्धता हुनेछ ।”

कृषि सामग्री कम्पनीले रु एक हजार ६५२ मा युरिया, रु चार हजार ५५२ मा डिएपी मल विक्रेता सहकारीलाई दिने र उक्त वितरकले रु एक हजार ८०० मा युरिया र रु चार हजार ८०० मा डिएपी बेच्नुपर्ने बोगटीले बताउनुभयो । कम्पनीले तोकेको मूल्यभन्दा बढीमा बेच्न पाइँदैन तर पहिल्यै मल मौज्दात राखेका केही कृषि सहकारीले ढुवानीको कारण देखाउँदै तोकिएको मूल्यभन्दा बढी मूल्यमा बिक्री गरिरहेका छन् । स्थानीय तहले मलको बिक्री वितरण, मूल्यमा एकरुपता, अनुगमन गर्न निर्देशिका जारी गरी कार्यान्वयन गर्नु अतिआवश्यक रहेको किसानको माग छ ।