neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • पर्वतको जलजला गाउँपालिकाका अध्यक्षलाई कोरोना सङ्क्रमण,गाउँपालिकाको सबै सेवा बन्द

पर्वतको जलजला गाउँपालिकाका अध्यक्षलाई कोरोना सङ्क्रमण,गाउँपालिकाको सबै सेवा बन्द

Oct 14th, 2020

पर्वत, २८ असोज /रासस

पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) लाई कोरोना सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाका सबै सेवा बन्द गरिएको छ । अध्यक्ष मल्ललाई सङ्क्रमण पुष्टि भएपछि आजदेखि पालिकाको कार्यालय र वडा कार्यालयका सबै सेवा बन्द गरिएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले विज्ञप्ति प्रकाशित गर्दै कन्ट्याक्ट ट्रेसिङको परिणाम नआएसम्मका लागि बन्द गरिएको जानकारी दिनुभएको छ ।

विज्ञप्तिमा पालिकाका जनप्रतिनिधि, कर्मचारी तथा सम्पर्कमा आएका सबैलाई सुरक्षितरूपमा होम आइसोलेसनमा बस्न शर्माले आग्रह गर्नुभएको छ । अध्यक्ष मल्लको सम्पर्कमा रहेका परिवारका सदस्य, जनप्रतिनिधि, कर्मचारी, अन्य व्यक्तिको परीक्षण गरिने भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा अध्यक्ष मल्ललाई मङ्गलबार सङ्क्रमण पुष्टि भएको हो । अध्यक्ष मल्लको पोखराको चरक अस्तपालमा रहेको आइसोलेनसनमा उपचार भइरहेको छ । उहाँको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ ।

नेपाली काँग्रेस पर्वतका कोषाध्यक्षसमेत रहनुभएका मल्लमा कोरोना पुष्टि भएपछि काँग्रेसले पर्वतले विज्ञप्ति प्रकाशित गरेर स्वास्थ्यलाभको कामना गरेको छ । जिल्ला सभापति खिमप्रसाद भुसालले कोरोना नियन्त्रणमा अहोरात्र खटिरहेको बेला सङ्क्रमण पुष्टि भएको भन्दै स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

कुश्माका मुख्यचोकमा सिसी क्यामेरा

नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गर्दै पर्वत जिल्लाको सदरमुकाम कुश्माबजारको सुरक्षा संवेदनशील क्षेत्रमा सिसी क्यामेरा जडान गरिएको छ । विगत चार वर्षअघिदेखि बिग्रेका क्यामेरा मर्मत गरी सिसीटिभी मङ्गलबारदेखि सञ्चालनमा ल्याइएको हो । कुश्मा नगरपालिकाको सहयोगमा जिल्ला प्रहरी कार्यालयले क्यामेरा मर्मत गरी सञ्चालनमा ल्याएका हुन् । कुश्मामा २० वटा संवेदनशील ठाउँमा क्यामेरा जडान गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले बताउनुभयो । “सुरक्षा संवेदनशीलता भएका ठाउँमा क्यामेरा जडान गरिएको छ”, उहाँले भन्नुभयोे, “चोरी, झैझगडा र अन्य अपराध रोक्नका लागि यसले सहयोग पु¥याउने छ ।”

कुश्मा मुख्यचोक, बजार क्षेत्र, लामा र अग्ला पुल, बञ्जीजम्पलगायत ठाउँमा क्यामेरा जडान गरिएको छ । लोकतान्त्रिक चोक, प्रगतिचोक, मैत्रीचोक, आचार्यचोक, दुर्लुङचोक, शिवालयचोक, बन्जीचोक, अस्पताल चोकलगायत स्थानमा सिसी क्यामेरा जडान गरिएको छ । यसअघि विसं २०७२ मा राखिएकामध्ये पाँचवटा क्यामेरा मर्मत गरी पुनः सञ्चालन गरिएको छ भने १५ क्यामेरा कुश्मा नगरपालिकाको सहयोगमा राखिएको छ । पहिलो चरणमा २० वटा राखिए पनि बजार क्षेत्रलाई केन्द्रित गरेर व्यावसायिक प्रतिष्ठानको सहकार्यमा थप क्यामेरा जडान गर्ने लक्ष्य राखिएको प्रनाउ अधिकारीले बताउनुभयो ।

कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले सिसीटिभीको शुभारम्भ गर्दै बजारमा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर प्रहरीसँगको सहकार्यमा सिसीटिभी क्यामेरा मर्मत गरी पुनः सञ्चालन गरिएको बताउनुभयो । क्यामेरा पुनःसञ्चालनका लागि नगरपालिकाले रु पाँच लाख सहयोग गरेको छ । “आपराधिक क्रियाकलाप रोक्नका लागि यो प्रविधि सबैभन्दा उपयोगी छ”, उहाँले भन्नुभयो, “जनशक्तिसमेत कम लाग्ने भएकाले अपराध नियन्त्रण गर्न प्रहरीलाई पनि ठूलो सहयोग पुग्छ ।”

कुश्माबजारमा धिरज कम्प्युटर नेटवर्कले सञ्चालन गरेको नेटको नेटवर्कलाई प्रयोग गरी क्यामेरा जडान गरिएका कारण तारका लागि छुट्टै खर्च गर्नुपरेको छैन । यसअघि विसं २०७२ मा धवलागिरि अञ्चलको प्रवेशद्वारको रूपमा रहेको पर्वतको डिमुवाबाट पर्वतको सदरमुकाम कुश्माबजार र वारीबेनीमा समेत क्यामेरा जडान गरिएको थियो । सबै क्षेत्रमा गरी ३५ वटा क्यामेरा जडान गरिएको थियो । सिसीक्यामेरा जडान गर्नका लागि पर्वत उद्योग वाणिज्य सङ्घको संस्थागत पहल तथा जिल्ला विकास समिति र कुश्मा नगरपालिकाले समेत सहयोग पु¥याएका थिए । त्यसका लागि रु २२ लाखभन्दा बढी खर्च गरेको तर मर्मतको अभावमा एक वर्षपछि नै सबै क्यामेरा बिग्रिएका थिए ।

aadharbhumi
aadharbhumi
aadharbhumi