neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • चाडपर्व लक्षित विशेष ट्राफिक सुरक्षा योजना : ठगी रोक्न सिभिल ट्राफिक परिचालन

चाडपर्व लक्षित विशेष ट्राफिक सुरक्षा योजना : ठगी रोक्न सिभिल ट्राफिक परिचालन

Oct 11th, 2020

काठमाडौ, असोज २५

नजिकिँदै गरेका वडा दशैं, तिहार तथा छठ जस्ता चाडपर्वलाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापन र स्वास्थ्य मापदण्डको विषयलाई केन्द्रमा राखेर ट्राफिक व्यवस्थापन विशेष सुरक्षा योजना आजदेखि कार्यान्वयन गर्न थालेको छ । काठमाडौ उपत्यकाको ट्राफिक व्यवस्थापन तथा नियन्त्रणको लागि ट्राफिक प्रहरीको प्रभावकारी परिचालन, दुरुस्त कारवाही, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर चाडपर्वलाई सुरक्षित वातावरणमा सम्पन्न गराउने उद्देश्यका साथउक्त योजना लागु गरिएको महाशाखाले जनाएको छ ।

उपत्यकाको सवारी आवागमनलाई सहज बनाउन, सडक प्रयोगकर्ताहरूको सुरक्षा सुनिश्चित गर्न, सवारी दुर्घटना न्यूनिकरण गर्न र चाडपर्वमा हुनसक्ने ठगी नियन्त्रणका लागि सुरक्षा योजना लागू गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जानकारी दिए । उनले यात्राको क्रममा कसैलाई केही समस्या भए १०३ मा फोन गर्न सबैमा आग्रहसमेत गरे ।
ट्राफिक व्यवस्थापन मात्र होइन, चाडपर्वको समयमा यात्रुसँग बढी भाडा लिने, बाटोमै यात्रुलाई ओरालदिने, स्वास्थ्य मापदण्ड पालना नगर्ने जस्ता समस्या आउन नदिन ट्राफिक प्रहरी चनाखो भएको छ ।

सादा पोसाकमै प्रहरी परिचालन गरि टिकट काउन्टरमा विशेष निगरानी

भीडभाड हुने स्थल र टिकट काउन्टरहरुमा हुन सक्ने ठगी तथा अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न महाशाखामा रहेको पीडित सहायता ईकाईबाट सादा पोसाकमा प्रहरी परिचालन गरी निगरानी गरिरहेको महाशाखाका प्रवक्ता तथा एसपी रामेश्वर प्रसाद यादवले बताए ।

मुख्यतः बसपार्क क्षेत्र, कलंकी, बल्खु, कोटेश्वर, पुरानो बसपार्क, गौशाला लगायत टिकट काउन्टर भएका स्थानमा सादा पोसाकमै प्रहरी परिचालन गरि टिकट काउन्टरमा विशेष निगरानी गरिने एसपी यादवले बताए । सादा पोसाकका ट्राफिक प्रहरीले बढिभाडा लिई टिकट काट्ने, फर्जि टिकट तथा डबल टिकट काट्ने व्यक्तिमाथि निगरानी राख्नेछ भने भाडाका बसहरूमा चढीतोकिएको मूल्यअनुसार टिकटलिएको छ, छैन चेकजाँच पनि गर्नेछ । यसका साथै टिकट काउन्टरमा टिकट काट्ने व्यक्तिहरुको सहजै पहिचानका लागि परिचयपत्रको व्यवस्था गरिएको महाशाखाले जनाएको छ ।

प्रविधिबाट निगरानी

लामो दुरीका भाडाका सवारी साधनमा २ जना चालक अनिवार्य रुपमा भएरनभएको प्रविधिबाट निगरानी गरिने छ । २ जना चालक भएरनभएको ट्राफिक प्रहरीको ट्राफिक कम्युनिकेशन एप्सबाट हेर्न र नियमानुसार नभए कारवाही गरिने यादवले बताए । टिकट काउन्टर तथा सवारी साधनभित्र यात्रुले देखिने गरी भाडा दररेट टाँस गर्ने काम अनिवार्य गराउने योजना पनि महाशाखाको रहेको छ ।

यस्तै, मोटरसाइकल चालकले हेल्मेट प्रयोग नगर्ने, तीब्र गतीमा सवारी चलाउने, ओभरलोड, सवारी अन्य भाग तथा छतमा यात्रु मालसामान राख्न, जिकज्याक सवारी चलाउने जस्ता ट्राफिक नियम उल्लङ्घन गर्ने उपर सिसिटिभि निगरानीबाट कडाईका साथ कारबाही गरिने महाशाखाले जनाएको छ । बसपार्कबाट बाहिरिने गाडीहरुलाई अनिवार्य रुपमा यान्त्रिक परीक्षण गर्न समन्वय गरिने महाशाखाले जनाएको छ ।

दिनमा चार पटक भन्दा बढी सरप्राईज चेकिङ

महाशाखाले चाडपर्वका बेला निजी तथा सार्वजनिक सवारी साधनमा घट्न सक्ने सम्भावित घटनालाई लक्षित गरेर बिहान, दिउँसो, साँझ र राति चार पटकसम्म विशेष चेकजाँचको व्यवस्था गर्ने भएको छ । उपत्यकाबाट बाहिरिने नाका तथा अन्य स्थानहरुमा सवारी साधनहरुको मापसेसहितको सम्पूर्ण चेकजाँच हुने महाशाखाले उल्लेख गरेको छ ।ट्राफिक प्रहरीले चाडपर्वका समयमा नागढुङ्गा, कलङ्की, स्वयम्भु, माछापोखरी, नयाँ बसपार्क, चावहिल, गौशाला, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा, पुरानो बसपार्क लगायतका ठाउँमा लामा दुरीका सवारी साधनलाई लक्षित गरेर विशेष जाँचको व्यवस्था पनि गरेको छ ।

भीडभाड क्षेत्रमा थप प्रहरी परिचालन

महाशाखाले उपत्यका भित्रिने नाका, व्यापारीक क्षेत्रहरु तथा बसपार्क एरियामा आवश्यकताअनुसार थप जनशक्ति परिचालन गरिने जनाएको छ । एसएसपी ढकालका अनुसार १७२ स्थानहरुमा दैनिक नियमित ड्युटीका लागि ९०० जनशक्ति परिचालन भइरहेको छ । चाडपर्वको समयमा अतिरिक्त थप १५० ट्राफिक प्रहरी जनशक्ति परिचालन गरिने प्रवक्तायादवले जानकारी दिए ।

१४ स्थानमा यात्रु सहायता कक्ष

काठमाडौं उपत्यका भित्रको सुरक्षा संयन्त्रलाई मध्यनजर गर्दै १४ वटा नागरिक तथा यात्रु सहायता कक्ष सञ्चालमा ल्याइने महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक रामेश्वर प्रसाद यादवले भने । यात्रुहरुको गुनासो सुक्ष्म रुपमा मनन् गरी तत्काल सम्बोधन गर्न नागरिक कक्ष राखिने उनले बताए ।
उपत्यकाको नागढुङ्गा, कलंकी, स्वयम्भू, माछापोखरी, नयाँबसपार्क, चावहिल, गौशाला, कोटेश्वर, जागती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र पुरानो बसपार्कमा सहायता कक्ष रहनेछन् । यात्रुको सेवामा चौबिसै घण्टा ट्राफिक प्रहरी समर्पित रहने हुदाँ यात्रुहरुले ढुक्कसँग यात्रा गर्ने वातावरण बनाउने महाशाखाले प्रतिवद्धता पनि गरेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi