neapl investment mega bank
  • गृहपृष्ठ
  • झापामा राप्रपाको जिल्ला समायोजन सम्पन्न

झापामा राप्रपाको जिल्ला समायोजन सम्पन्न

Oct 10th, 2020

झापा, असोज २४

मेची अंचलका चार जिल्लामध्ये झापामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जिल्ला समायोजन सम्पन्न भएको छ भने तीन जिल्लामा एकता प्रयास जारी छ । राप्रपाको केन्द्रीय परिपत्र बमोजिम झापामा अमर विष्टको अध्यक्षतामा जिल्ला कार्य समिति समायोजन गरिएको छ । साविक राप्रपाको पदाधिकारीसहित जिल्ला समिति यथावत राखी राप्रपा (संयुक्त) का दुई उपाध्यक्ष र सदस्यहरू समावेश गरिएको छ ।

असोज २१ गते भएको समायोजनमा राप्रपा (संयुक्त) लाई थप पदाधिकारी दिने सहमति भएको छ । विगत जिल्ला अधिवेशनको निर्वाचित समितिलाई मूल आधार मानि समावेशी समायोजन गर्ने केन्द्रको परिपत्र छ । तत्कालीन राप्रपाले जिल्ला अधिवेशनमा ७० प्रतिशत सीट जितेको थियो भने राप्रपा (संयुक्त) ले ३० प्रतिशत सीट हासिल गरेको थियो ।

पार्टीको निर्देशन र झापाको समायोजनलाई आधार मान्ने हो भने पाँचथरमा राजकुमार जोशी अध्यक्ष हुने निश्चित छ । साविक राप्रपा (संयुक्त) ले जिल्ला अधिवेशनमा ८५ प्रतिशत सीट जितेको थियो भने राप्रपाले १५ प्रतिशत सीट जितेको थियो । राप्रपाका अध्यक्षत्रय पशुपति शम्शेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाको वैठकले पार्टी समायोजनको समयसीमा असोज २१ बाट असोज २९ सम्म थप गरेपछि पाँचथरमा समायोजन प्रयास निरन्तर छ ।

राप्रपा (संयुक्त) का अध्यक्ष राजकुमार जोशीले एक वक्तव्यमा भने, ‘देशमा बलियो राष्ट्रवादी, प्रजातान्त्रिक शक्ति र विकल्पको आवश्यकता छ । यही मान्यता र पवित्र भावना लिएर पाँचथरमा केन्द्रको निर्देशन बमोजिम जिल्ला समिति समायोजन गर्दै सशक्त संगठन निर्माण गर्न हामी प्रतिवद्ध छौं ।’ राप्रपा (संयुक्त) ले अध्यक्ष पदका लागि जोशीलाई अघि सारे पनि राप्रपाका तर्फबाट अध्यक्षका दावेदार को हुन् भन्नेमा मत बाझिएको छ । साविक राप्रपामा यसबारे एकरूपता छैन । कहिले जगत थापा मगर त कहिले प्रेम थाम्सुहाङ भनेर द्विविधापूर्ण दावी प्रस्तुत गरिएको छ ।

पाँचथरमा असोज २० गते दुई पक्षका वार्ता टोलीबीच पहिलो चरणको वार्ता सम्पन्न भएको थियो । तीन घण्टाभन्दा बढी चलेको वार्ता निष्कर्षमा नपुगे पनि समायोजन, एकता प्रयास र दुई पक्षीय वार्ता जारी रहेको बताइएको छ । दोस्रो चरणको वार्ता चाँडै बस्ने तयारी छ ।

राप्रपा (संयुक्त) का उपाध्यक्ष कृष्णबहादुर योङहाङको संयोजकत्वमा गठित ९ सदस्य वार्ता टोलीमा कमल चेम्जोङ, कमलकुमार राई, लक्ष्मी राई, नेत्रप्रसाद लावती, कल्पना राई, राम तामाङ, हरी घिमिरे र दलशम्शेर बराइली सदस्य छन् । राप्रपाको ९ सदस्य वार्ता टोलीमा कोषाध्यक्ष मोहन दाहाल संयोजक र राम थापा, किशोर थापा, सबिता राउत, होमराज थाम्सुहाङ, प्रयाग सुवेदी, नरोत्तम थापा, झलक थापा र टंक तिम्सिना सदस्य छन् । इलाममा समायोजन प्रक्रिया टुंगो नलागे पनि केन्द्रबाट उपलब्ध निर्देशनका आधारमा हरी श्रेष्ठ नै अध्यक्ष बन्ने निश्चित छ । श्रेष्ठ गत जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्ष हुन् भने निर्वाचित समितिको बहुमत पनि उनकै पक्षमा छ ।

तत्कालीन राप्रपा र राप्रपा (संयुक्त) का मौजुदा जिल्ला कार्य समितिबीच इलाममा भएको समायोजन प्रयास निष्कर्षमा पुग्न सकेन । एकताका लागि छलफल भने जारी राखिएको छ ।
ताप्जेलुङमा अधिवेशनबाट निर्वाचित अध्यक्षले पार्टी परित्याग गरेको अवस्थामा, राप्रपा (संयुक्त) र राप्रपाको बराबर दावी छ । राप्रपा (संयुक्त) का डिल्ली विष्ट र राप्रपाका अमृत साउदेन प्रतिष्पर्धामा छन् ।