काठमाडौँ, २३ असोज /रासस
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पूर्वकोषाध्यक्ष रामबाबु प्रसाईँ (खनुपरूदे) को निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । समाजसेवी प्रसाईँको आज दिउँसो १२ः३० बजे काठमाडौँको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
सभापति देउवाले शोक विज्ञप्तिमार्फत अग्रज समाजसेवी र सत्यवादी नेताका रुपमा आफ्नो बेग्लै पहिचान बनाउनुभएका पूर्वकोषाध्यक्ष प्रसाईँको निधनको खबरले आफूलाई दुःखित बनाएको उल्लेख गर्नुभएको छ । सभापति देउवाले उहाँमा श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।
प्रसाईँ सन्त नेता कृष्णप्रसाद भट्टराईको सभापतित्वकालमा पार्टीको कोषाध्यक्ष हुनुहुन्थ्यो । विसं १९७८ माघ १५ मा जन्मनुभएका प्रसाईँले नेपालका लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो ।