काठमाडौँ, १९ असोज/रासस
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मापदण्डअनुरुपको आइसोलेशनमा बस्ने आफ्नो व्यवस्था नभएका कोरोना भाइरस सङ्क्रमितलाई तत्काल समुचित व्यवस्था गर्न सरकारसँग माग गरेको छ । कांग्रेसका सहमहामन्त्री एवं पार्टीको कोभिड—१९ अनुगमन समितिका संयोजक डा प्रकाशशरण महतले आज विज्ञप्तिमार्फत कोरोनाको लक्षण देखिएका सङ्क्रमितलाई अस्पतालमा उपचारको समुचित व्यवस्था गर्नसमेत सरकारसँग माग गर्नुभएको छ ।
सरकारी निकायले कोरोना सङ्क्रमितको सम्पर्कमा आएकाहरुको ट्रेसिङ गरी परीक्षण र आइसोलेशनको प्रभावकारी व्यवस्था गर्न नसकेको र यसले विशेषतः काठमाडौंँ उपत्यकामा डेरामा बस्ने या घरै भए पनि मापदण्डअनुरुप बस्ने व्यवस्था नभएकाहरुको बिचल्ली भएको विज्ञप्तिमा जनाइएको छ ।