neapl investment mega bank
  • गृहपृष्ठ
  • मन्त्री अर्यालको संयोजनमा स्याङ्जाका पहिरो पीडितलाई सरकार र सहकारीको १८ लाख सहयोग

मन्त्री अर्यालको संयोजनमा स्याङ्जाका पहिरो पीडितलाई सरकार र सहकारीको १८ लाख सहयोग

Oct 4th, 2020

पोखरा असोज १८

स्याङ्जा जिल्लाका विभिन्न स्थानमा बाढी पहिरोका कारण ज्यान गुमाएकाका परिवार तथा घाइतेहहरुलाई नेपाल सरकार र सहकारी अभियानको तर्फबाट १८ लाख पाँच हजार रुपैया राहत रकम हस्तान्तरण गरिएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण पद्मा अर्यालले वालिङ नगरपालिका, गल्याङ नगरपालिका र कालीगण्डकी गाउँपालिकाका पहिरो पीडितलाई १८ लाख पाँच हजार रुपैया सहयोग हस्तान्तरण गरेकीहुुन ।

मन्त्री अर्यालको संयोजनमा नेपाल सरकार, प्रदेश सरकार तथा राष्ट्रिय सहकारी बैंक र काठमाडौं जिल्ला सहकारी संघ समेतको सहयोगमा उक्त रकम हस्तान्तरण गरिएको मन्त्रीका स्वकीय सचिव बुद्ध घर्तिले जानकारी दिए । सरकारको तर्फबाट १२ लाख पाँच हजार तथा काठमाडौं जिल्ला सहकारी संघको संयोजनमा काठमाडौंमा विभिन्न सहकारी संस्थाहरु र राष्ट्रिय सहकारी बैंकको तर्फबाट छ लाख रुपैया गरी जम्मा १८ लाख पाँच हजार रुपैया स्याङ्जाका विभिन्न ठाउँमा पहिरोबाट पीडित भएकाहरुलाई हस्तान्तरण गरिएको हो । जिल्ला सहकारी संघ स्याङ्जाको अनुरोधमा जिल्ला सहकारी संघ काठमाडौं, काठमाडौंका विभिन्न सहकारी संस्था र राष्ट्रिय सहकारी बैंकमार्फत पहिरो पीडितलाई छ लाख राहत सहयोग गरिएको हो ।

मन्त्री अर्यालको माइती गाउँ वालिङ नगरपालिका वडा नं. १४ तमादीमा एक परिवारका आठ सहित नौ जनाका निधन भएको थियो । वालिङ नगरपालिका–१४ तमादीमा नेपाल सरकारको तर्फबाट सात लाख २० हजार र सहकारी अभियानको तर्फबाट तीन लाख गरी १० लाख २० हजार रुपैया हस्तान्तरण गरिएको थियो । असोज ८ गते घर माथिबाट आएको पहिरोमा पुरिएर माया नेपालीको आठ जनाको परिवार र बहिनी उमाकला गरी नौ जनाको मृत्यु भएको थियो ।

यसैगरी कालीगण्डकी गाउँपालिका वडा नं. ४ मा असोज ८ गते पहिरोमा परी मृत्यु भएका विष्णु दमैको परिवारलाई केन्द्र सरकारको दुुई लाख, प्रदेश सरकारको तर्फबाट ५० हजार र सहकारीको तर्फबाट ४० हजार रुपैया हस्तान्तरण गरिएको थियो । वालिङको पेखु, तमाधी, गल्याङ नगरपालिका र कालीगण्डकी नगरपालिकाका पहिरो पीडितको घरमै गएर मन्त्री अर्याल सहितको टोलीले राहत रकम हस्तान्तरण गरेको हो ।

राहत रकम हस्तान्तरण गर्दै मन्त्री अर्यालले पहिरोबाट ज्यान गुमाएकाका परिवार र घाइते तथा विस्थापितहरुको उपचार तथा व्यवस्थापनमा सरकारको तर्फबाट कुनै कसर बाँकी नरहने प्रतिवद्धता जनाएकीछन । आवास निर्माण लगायत पुनस्थापनाका लागि सरकारले व्यवस्थापन गर्ने भन्दै मन्त्री अर्यालले पीडित परिवारका सदस्यहरुको शिक्षा, स्वास्थ्यमा सहयोग गर्ने प्रतिवद्धता जनाईन । असोज १७ गते मन्त्री अर्यालको टोली पीडित परिवारको घरमा पुगेर राहत हस्तान्तरण गर्नुका साथैै पहिरोबाट भएको क्षतिको अवलोकन गरेको थियो ।

मन्त्री अर्याल सहित प्रदेश सभा सदस्य राम बहादुर गुरुङ, जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख सीता सुन्दास, स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर के.सी., कालीगण्डकी गाउँपालिकाका अध्यक्ष तथा सहकारी अभियानको तर्फबाट राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसी, बैंकका सञ्चालक तथा काठमाडौं जिल्ला सहकारी संघका अध्यक्ष ज्ञान बहादुर तामाङ, उपाध्यक्ष खेमराज सुवेदी, जिल्ला सहकारी संघ स्याङ्जाका कोषाध्यक्ष शिव वाग्ले, राष्ट्रिय सहकारी बैंक वालिङ शाखाका प्रमुख सुवास आचार्य लगायत सहभागिता रहेको थियो ।