काबुल,१५ असोज /रासस/एएनआई
अफगानिस्तानका तालिबानी संगठनका प्रवक्ता मोहम्मद नइम वार्दाकले अफगानिस्तानको सरकार र तालिबानीहरुका बीचको शान्ति वार्ता त्यति सजिलो प्रक्रिया होइन भन्नुभएको छ ।
उहाँले बिहीबार भन्नुभएको छ– अफगान सरकार र तालिबानबीचको वार्ता त्यति सजिलो प्रक्रिया होइन यसका लागि दुवै तर्फबाट धैर्यता र योगदानको आवश्यकता पर्छ ।उहाँले शान्तिवार्ताका माध्यमबाट अफगानिस्तानमा शान्ति स्थापनाका लागि दुवै पक्षबाट ठूलो योगदानको खाँचो रहेको बताउनुभएको काबुलबाट विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
प्रवक्ता वार्दाकले सम्वाददाताहरुसँग सो बताउनुभएको ती समाचारहरुमा जानकारी दिइएको छ । उहाँले वार्ता दोहामा जारी नै रहेको, वार्तामा निकै नै जटिल विषयहरुमा कुराकानी भइरहेको र अहिलेसम्म वार्ता सकारात्मक रहेको पनि बताउनुभएको छ ।
तर सो वार्ता सकारात्मक रहेको र यसले अफगानिस्तानका लागि राम्रो गर्ने धारणा पनि उहाँले राख्नुभएको समाचारमा जनाइएको छ । सो वार्ता शुरु भए पछि पनि गत फेब्रुअरी २९ मा तालिबान र संयुक्तराज्य अमेरिकाबीच भएको सम्झौतालाई मान्यता दिन अफगान सरकारले हिच्किचाइरहेको तालिबानहरुले बताएका थिए । अफगान सरकारले तालिबान–अमेरिकाबीचको सहमतिलाई अघि बढाउने प्रयास गरेको बताएको छ ।
तालिबान–अमेरिकाबीचको विगतको सो सम्झौताले नै वार्ताका लागि ढोका खोलेको थियो । सम्झौता बमोजिम एकअर्काका कब्जामा र जेलमा रहेका युद्धबन्दीहरुलाई मुक्त गरिएपछि वार्ता शुरु भएको हो । अफगान सरकार र तालिबानबीच शान्ति वार्ता गत सेप्टेम्बर १२ देखि कतारको राजधानी दोहामा जारी छ । तर दुबै पक्षबीच वार्ता शुरु भएपनि अफगानिस्तानमा हिंसात्मक घटना भने जारी नै रहेका छन् ।
उता अफगान शान्तिवार्ताबारे पाकिस्तानी उच्च पदाधिकारीसँग छलफल गर्न अफगानिस्तानको राष्ट्रिय मेलमिलाप परिषदका अध्यक्ष अब्दुल्लाह अब्दुल्लाह पनि केही दिनअघि पाकिस्तान जानुभएको थियो ।
पाकिस्तानी विदेश मन्त्रालयका अनुसार अब्दुल्लाहका साथ उच्चस्तरीय अफगान प्रतिनिधिमण्डल पनि त्यहाँ पुगेको थियो । अब्दुल्लाहले पाकिस्तानी राष्ट्रपति र प्रधानमन्त्रीसँग पनि भेटवार्ता गर्नुभएको थियो ।
अफगान सरकारका प्रतिधिनिहरुले पनि वार्ता प्रक्रिया सकारात्मक रुपमा अघि बढिरहेको जानकारी गराएका थिए । यस वार्ताको मध्यस्थता अमेरिकाले गरिरहेको बताइएको छ ।