neapl investment mega bank
  • गृहपृष्ठ
  • महामारी फैलिदा पनि कसरी बढ्यो रेमिट्यान्स ?, महंगीले जनता मारमा

महामारी फैलिदा पनि कसरी बढ्यो रेमिट्यान्स ?, महंगीले जनता मारमा

Sep 27th, 2020

आधारभूमि संवाददाता

काठमाडौं, असोज ११

महामारीका कारण विदेशमा रहेका कामदार स्वदेश फर्कन लागेपछि उनिहरुले पाएको उपदान तथा तलब एकै पटक नेपालमा आउँदा समग्र रेमिट्यान्स भने बढेको देखिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार साउनमा विप्रेषण आप्रवाह २३.० प्रतिशतले वृद्धि भई ९२ अर्ब ७१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २.० प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.७ प्रतिशतले बढेको थियो ।

साउनमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ९९.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १९.० प्रतिशतले घटेको थियो । अर्थात बिदेशमा कामदार जाने संंख्या घट्नु र उताबाट फर्कनेले पठाएको आधारमा रेमिट्यान्स बढ्नु देशको अर्थतन्त्रका लागि सुखद कुरा भने होइन ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ८०.० प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १.३ प्रतिशतले घटेको थियो ।

महामारीका कारण बस्तुहरुको सहज रुपमा ओसारपसार नभएपछि गत वर्षको तुलनामा तीन दशमलव चार नौ प्रतिशतले मूल्यबृद्धि भएको राष्ट्र बैंकले बताएको छ।

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.९५ प्रतिशत रहेको थियो । २०७७ असारको तुलनामा २०७७ साउनमा तरकारीको मूल्य २८.२१ प्रतिशतले बढेकोछ ।

यो वर्षको पहिलो महिना अर्थात साउनमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.३८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.०४ प्रतिशत रहेको छ ।

२०७६ साउनको तुलनामा २०७७ साउनमा दाल तथा गेडागुडी, माछा तथा मासु र सुर्तिजन्य वस्तुको मूल्य वृद्धि उच्च रहेको छ । साउन महिनामा काठमाडौं उपत्यकामा ३.३१ प्रतिशत, तराईमा ४.०२ प्रतिशत, पहाडमा २.७२ प्रतिशत र हिमालमा ४.०७ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७६ साउनमा यी क्षेत्रहरुमा क्रमशः ८.६३ प्रतिशत, ६.४६ प्रतिशत, ६.०० प्रतिशत र ५.५७ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

२०७७ साउनमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ७.३३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.२६ प्रतिशत रहेको थियो । साउन महिनामा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ७.४४ प्रतिशत, ८.१० प्रतिशत र २.६३ प्रतिशत रहेको छ । साउनमा निर्माण सामग्रीको थोक मूल्य २.३३ प्रतिशतले घटेको छ ।