–हेमन्त केसी
जाजरकोट, ७ असोज /रासस
शहर र सुविधासम्पन्न ठाउँका बालबालिकाले बाह्रैमहिना खोप पाए पनि उपल्लो डोल्पाका बालबालिकाले भने छ महिना पनि मुस्किलले खोप सेवा पाउने गरेका छन् । भौगोलिक विकटता र अत्यधिक चिसोका कारण उपल्लो डोल्पाका चार स्थानीय तहका बालबालिका छ महिना खोपबाट वञ्चित हुनुपरेको छ । वैशाखदेखि असोजसम्म मात्र उपल्लो डोल्पाका बालबालिकाले खोप सेवा पाउने गरेको स्वास्थ्य सेवा कार्यालय डोल्पाले जनाएको छ ।
गर्मी मौसममा मात्र खोप ढुवानी गर्न सकिने भएकाले छ महिना मात्र खोप उपलब्ध गराउन सकिएको र चिसो मौसमका छ महिना यसै रहने गरेको उक्त कार्यालयको भनाइ छ । उच्च भूगोल रहेको ठाउँमा चिसो मौसममा भारी हिमपात हुने भएकाले खोप ढुवानी कार्य नहुँदा उपल्लो डोल्पासम्म यो सेवा पु¥याउन नसकिएको हो । हुने खानेहरु तल्लो डोल्पा तथा देशका अन्य ठाउँमा गएर पनि खोप लगाउने गर्छन् तर आर्थिक अवस्था कमजोर भएका सबैले खोप सेवा लिन नपाउने अवस्था उक्त रहेको कार्यालयको दाबी छ ।
हेलिकप्टर बाहेक अन्य माध्यमबाट उपल्लो डोल्पामा खोप र अन्य औषधि पु¥याउन नसकिने स्वास्थ्यसेवा कार्यालय जनस्वास्थ्य शाखाका प्रमुख अमरसिंह शाहीले जानकारी दिनुभयो । उपल्लो डोल्पामा स्वास्थ्य संस्थाको सङ्ख्यसमेत अत्यन्तै न्यून रहेको छ । भौगोलिक विकटतामाथि पनि मौसमी चुनौतीका कारण यहाँका स्थानीयवासी स्वास्थ्य सेवाबाट पनि वञ्चित भइरहेका छन् ।
तीन स्थानीय तहमा बर्थिङ सेन्टर छैन
उपल्लो डोल्पाका तीन स्थानीय तहमा सुरक्षित सुत्केरी गराउनका लागि बर्थिङ सेन्टर नै नभएको स्वास्थ्यसेवा कार्यालयले जानकारी दिएको छ । उच्च हिमाली क्षेत्रमा पर्ने फोक्सुण्डो गाउँपालिका, डोल्पोबुद्ध गाउँपालिका र छार्का ताङसोङ गाउँपालिकामा बर्थिङ सेन्टर नै नभएको शाखा प्रमुख शाहीले जानकारी दिनुभयो ।
त्यस्तै तल्लो र मध्य डोल्पाको ठूलीभेरी नगरपालिकामा दुई वटा, त्रिपुरासुन्दरी नगपालिकामा चार, काइके गाउँपालिकामा दुई, जगदुल्लामा दुई र मुड्केचुला तीन वटा बर्थिङ सेन्टर रहेका छन् । बर्थिङ सेन्टर भएको ठाउँमासमेत सुत्केरी सेवा लिनेको सङ्ख्य कम रहेको छ । उपकरण नहुँदा हातैले छामेर जाँच हुँदै आएको छ ।
त्यस्तै शे फोक्सुण्डोमा तीन वटा स्वास्थ्य संस्था, डोल्पोबुद्ध गाउँपालिकामा दुई, छार्का ताङसोङमा दुई र काइके गाउँपालिकामा दुई वटा मात्र स्वास्थ्य संस्था रहेका छन् । प्राथमिक स्वास्थ्य केन्द्र भने डोल्पा जिल्लाभरि नै नरहेको स्वास्थ्यसेवा कार्यालयले जनाएको छ ।
उपल्लो डोल्पाभन्दा तल्लो र मध्य डोल्पामा स्वास्थ्य संस्थाको सङ्ख्य बढी रहेको छ । त्रिपुरासुन्दरी नगरपालिकामा पाँचवटा स्वास्थ्य संस्था, सदरमुकाम रहेको ठूलीभेरी नगरपालिकामा स्वास्थ्य सेवा कार्यालयसहित चार वटा, मुड्केचुला गाउँपालिकामा तीन, जगदुल्ला गाउँपालिकामा तीन वटा रहेका छन् । आर्थिक वर्ष २०७६/७७ मा मुड्केचुला गाउँपालिकामा ८३ जना, त्रिपुरासुन्दरी नगरपालिकामा १३५ जना, ठूलीभेरी नगरपालिकामा १६८ जना काइके गाउँपालिकामा २३ जना र जगदुल्ला गाउँपालिकामा २२ जना महिला सुरक्षित रुपमा स्वास्थ्य संस्थामा आएर सुत्केरी भएको स्वास्थ्यसेवा कार्यालय डोल्पाका स्वास्थ्यसेवा व्यवस्थापक सिजन रावलले जानकारी दिनुभयो । उपल्लो डोल्पामा स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने सङ्ख्य भने शून्य रहेको छ ।
उपल्लो डोल्पा भन्दा तल्लो र मध्यडोल्पामा बढी स्वास्थ्य संस्था रहेका छन् । घरमै सुत्केरी हुने दर उपल्लो डोल्पामा सतप्रतिशत रहेको स्वास्थ्यसेवा कार्यालयले जनाएको छ । आम्ची चिकित्सा विधिको भरमा मात्र सुत्केरी सेवा उपलब्ध हँुदै आएको छ । अहिले पछिल्लो समयमा सुरक्षित मातृत्व नवराज शिशु तथा बाल स्वास्थ्य र परिवार नियोजना लागू भएदेखि केही सुधारका लागि पहल गर्न खोजिएको छ । यस वर्ष हवाई मार्गमार्फत् १७ जना गर्भवतीको उद्धार गरिएको छ ।
राष्ट्रपति उद्धार कोषमार्फत् सबै गर्भवतीको उद्धार भएको हो । उद्धार भएकामध्ये अधिकांश उपल्लो डोल्पामा रहेका छन् । पहुँच नहुने अधिकांश गर्भवती गाउँमै असुरक्षित रुपमा सुत्केरी हुन बाध्य हुने गरेको फोक्सुण्डो गाउँपालिका–३ का सीतार गुरुङले बताउनुभयो ।
अधिकांश सुत्केरी घरमै
डोल्पाका अधिकांश सुत्केरी घरमै असुरक्षित रुपमा सुत्केरी हुने गरेका छन् । पहुँचमा स्वास्थ्य संस्था नहुँदा घरमै सुत्केरी हुन बाध्य भएको स्वास्थ्यसेवा कार्यालय नै बताउँछन् । स्टेचरसमेत नभएका कारण डोकोमा बोकेर केहीलाई स्वास्थ्य संस्थासम्म पु¥याएर सुत्केरी गराउने गरिएको स्थानीयवासी बताउँछन् ।
धामी, झाँक्रीको विश्वासमा यहाँका अधिकांश गर्भवती स्वास्थ्य संस्था जान पनि मान्दैनन् । अर्कातर्फ गर्भवती अवस्थाका महिलालाई बोकेर स्वास्थ्य संस्थामा लैजान पनि समस्या हुने गरेको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिनुभयो ।
नियमित गर्भजाँच गर्ने गर्भवतीको सङ्ख्यसमेत कम रहेको उहाँको भनाइ छ । बर्थिङ सेन्टरमासमेत आवश्यक उपकरणको अभावमा सबै सेवा दिन नसकेको स्वास्थ्यकर्मीको भनाइ छ । उपल्लो डोल्पाका गाउँमा के भइरहेको छ भन्नेसम्म सदरमुकामस्थित दुनैमा महिना दिनपछि मात्र सूचना प्राप्त हुने गर्दछ । स्वास्थ्य संस्थामा सुत्केरीका लागि आउन आग्रह गरे पनि कसैले नमान्ने गरेको शे फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष टसी तुन्डुप गुरुङले जानकारी दिनुभयो ।
उपचारका लागि जडीबुटीकै भर
उपल्लो डोल्पामा गर्भवतीलाई सुत्केरी गराउनेदेखि अन्य रोगबाट बिरामी भएमा सबैलाई स्थानीय जडीबुटीबाट उपचार गरिँदै आएको छ । स्वास्थ्य संस्थामा पहुँच नहुँदा अधिकांश सर्वसाधारण जडीबुटीको माध्यमबाट स्थानीयवासीको उपचार गर्न बाध्य भएको शे फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष टसी तुन्डुप गुरुङ नै बताउनुहुन्छ । उपल्लो डोल्पाका तीन वटा स्थानीय तहका सर्वसाधारण जडीबुटीकै भरमा उपचार गर्दै आएका स्थानीयवासी निकायका जनप्रतिनिधिको भनाइ छ ।
छ महिना बन्द खोपहरु
क्षयरोग विरुद्धमा विसीजी, भ्यागुते रोग, लहरेखोकी, धनुष्टङ्कार, हेपाटाइटिस बि, हेमोफिलस इन्फ्लुएन्जा बिको विरुद्धमा डिपिटी, हेप बी, हिब लगाउने गरिन्छ । यिलगायत आवश्यक सबै खालका खोप उपल्लो डोल्पामा ६ महिनासम्म लगाउन पाइँदैन ।
उपल्लो डोल्पामा कति खोप लगाइन्छ र समयमा नै ती उपलब्ध नहुँदा के गरिन्छ भन्ने कुरा आफूसम्म कहिल्यै पनि तथ्याङ्क नआउने गरेको स्वास्थ्य कार्यालय डोल्पाका खोप स्रोत व्यक्ति टेकबहादुर गुरुङले जानकारी दिनुभयो । “मन लाग्यो भने स्थानीयवासी बच्चा लिएर खोप लिन आउँछन्, मन नलागे आउँदैनन्, यस्तै छ के गर्नु” गुरुङले भन्नुभयो ।
देखिन थाल्यो खोपको असर
उपल्लो डोल्पामा प्राणघातक रोग हेपाटाइटिस बिको समस्या बढ्दै गएको देखिएको छ । डोल्पोबुद्ध गाउँपालिकामा २०७६ असोज १३ गते गरिएको वृहत् स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गराएका ३४३ मध्ये ७० लाई हेपाटाइटिस बी पोजेटिभ देखिएको स्वास्थ्यसेवा कार्यालय डोल्पाका चिकित्सक मेलिना हमालले जानकारी दिनुभयो ।
शिविरमा जाँच गराएका ३० प्रतिशतमा हेपाटाइटिस बी पोजेटिभ देखिनु समस्या बढी नै भएको उहाँको भनाइ छ । बच्चा जन्मने वित्तिकै लगाइने हेपाटाइटिस बी विरुद्धको खोप नलगाइनुले पनि रोगको प्रकोप बढ्दै गएको स्वास्थ्यसेवा कार्यालय डोल्पाले जानकारी दिएको छ । उपल्लो डोल्पाको धो गाउँमात्रै नभएर, साल्दाङ, भिजेर, छार्का, फोक्सुण्डोलगायतका गाउँका सर्वसाधारणलाई समेत सङ्क्रमण भएको पाइएको थियो ।
विसं २०७६ माघमा उपल्लो डोल्पामा झाडापखाला फैलिँदा यहाँको स्थानीय बस्तीका नागरिक निकै नै हैरान भएका थिए । पछि बल्ल सदरमुकामबाट गएको टोलीले उपचार गर्दा समस्याको निदान भएको थियो । बेलाबेलामा समस्य आए पनि सरोकारवाला निकाय गम्भीर नहुँदा समस्या भएको पीडितहरु बताउँछन् । कुन ठाउँमा के हुन्छ भन्ने कुरा सञ्चार असुविधाका कारण सबै कुरा सदरमुकामसम्म पनि आइपुग्दैनन् । तर पछि ती प्रकोप या रोगले ग्रस्त भएपछि मात्र समाचार बाहिर आउने गर्छ । त्यसपछि जनशक्ति खटाइए पनि प्रकोपलाई समयमै नियन्त्रणमा लिन समस्यापर्ने गर्दछ ।