आधारभूमि संवाददाता
काठमाडौं, ७ असोज
विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण ९ लाख ७५ हजार ५५५ व्यक्तिको मृत्यु भएको छ ।
नेपाली समय बुधवार १२:३० बजे सम्म विश्वभरीमा तीन करोड १७ लाख ८८ हजार २९५ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।
सङ्क्रमितमध्ये हालसम्म दुई करोड ३४ लाख ४ हजार १९० व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ७४ लाख ८ हजार ५५० व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६२ हजार ८१ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
सबैभन्दा धेरै सङ्क्रमित र मानवीय क्षति अमेरिकामा भएको छ भने दोस्रो धेरै प्रभावित भारतमा देखिएको छ ।
पछिल्लो विवरण अनुसार अमेरिकामा कुल सङ्क्रमितको संख्या ७० लाख ९८ हजार २९१ पुगेको छ । त्यसैगरी यहाँ कुल मृतकको संख्या २ लाख ५ हजार ४७८ पुगेको छ ।
दोस्रो धेरै प्रभावित भएको भारतमा ५६ लाख ४६ हजार १० जना सङ्क्रमित भएका छन् भने ९० हजार २१ जनाको मृत्यु भएको छ ।
त्यसतै तेस्रो धेरै प्रभावित भएको ब्राजिलमा ४५ लाख ९५ हजार ३३५ जना सङ्क्रमित भएका छन् भने एक लाख ३८ हजार १५९ जनाको मृत्यु भएको छ ।
स्रोत: वर्ल्डोमीटर