neapl investment mega bank

पर्यटकीय गतिविधी थप खुला गर्न जोड

Sep 20th, 2020

काठमाडौ, असोज ४

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईले कोभिड १९ महामारी रोक्न चालिएका कदम तथा यात्रा प्रतिबन्धहरुले नेपालको पर्यटन क्षेत्रमा ६० अर्बभन्दा बढिको घाटा व्यहोर्नु परेकाले यसको पुन उत्थान चुनौतिपूर्ण रहेको बताएकाछन ।

नेपाल उद्योग परिसंघले आईतबार आयोजना गरेको पर्यटन क्षेत्रलाई सुचारु गर्ने सम्बन्धी भर्चुअल अन्तरक्रियामा मन्त्री भट्टराईले कार्यक्रममा सावधानीपूर्वक पर्यटकीय गतिविधी खुला गर्न सबै पक्षको सहकार्य आवश्यक भएको बताए ।

मन्त्री भट्टराईले अन्तर्राष्ट्रिय उडान नियमित गर्दै लैजाने र बोर्डिङ्गपास लिएको ७२ घण्टा भित्रको पी.सि.आर. टेस्ट नेगेटिभ लिएर आउदा पर्यटकलाई नेपाल आउन रोक नभएको बताए । अब पर्यटन सेवा सुचारु हुँदा अनअराइभल भिसा दिने कुरामा सकारात्मक रहेको पनिमन्त्री भट्टराईले उल्लेख गरे । मन्त्री भट्टराईले पर्यटन क्षेत्रको पुनस्र्थापनाकाप्याकेज कार्यान्वायनमा अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकमा मन्त्रालयको तर्फबाट निरन्तर फलोअप गरिरहेको पनि जानकारी दिए ।

भर्चुअल अन्तरक्रिया कार्यक्रममा परिसंघका अध्यक्ष सतिशकुमार मोरले कोभिडसँग डराएर भन्दा पनि सावधानी अपनाएर अघि बढ्नु पर्ने अवस्था आएकाले पर्यटन व्यवसाय तथा नागरिक उड्डयन सेवा सुचारु गर्नुको विकल्प नभएको बताए । यसका लागि भएको सरकारी निर्णयको पनि अध्यक्ष मोरले स्वागत गरे । पर्यटन क्षेत्रसँग सम्बन्धित उद्योग तथा सेवा सुचारु गर्दा नीजि क्षेत्रसँगको छलफल तथा समन्वयमा जारी गरिने स्वास्थ्य प्रोटोकलको पालना गराउन परिसंघ प्रतिबद्ध रहेको पनि अध्यक्ष मोरले उल्लेख गरे ।

पर्यटन पुनर्उत्थानका कामहरु सुस्त भएको डिमाण्ड शुल्क मिनाहा गर्ने लगायत बजेट तथा मौद्रिक नीतिमा आएका राहतको कार्यान्वयनमा ढिलाइ भइरहेको तर्फ अध्यक्ष मोरले ध्यानाकर्षण गराए । राहत कार्यान्वयनमा ढिलाइ हुँदा भइरहेको क्षतिको जिम्वेवारी लिनपनि सरकार तयार हुनु पर्नेमा अध्यक्ष मोरले जोड दिए ।

परिसंघका राष्ट्रिय परिषद् सदस्य सुधिर मित्तलले पर्यटन क्षेत्रका विज्ञ तथा संघ संस्थाका अध्यक्षहरुले अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान नियमित गरिनुपर्ने र उडानहरुलाई अकस्मात रद्ध गर्ने निर्णय लिन नहुने बताए । हवाइ इन्धनको शुल्क कम गरेर तथा पर्यटकीय पुर्वाधारको सुधार गरेर उड्डयन सेवालाई राहत दिन पनि मित्तलले आग्रह गरे । होटल एसोसिएसनका पूर्व अध्यक्ष परिषद्का संयोजक योगेन्द्र शाक्यले सुरक्षित पर्यटनका लागि सबै पक्षमा बिश्वास दिलाउन सहकार्य गरिनुपर्ने बताए ।

ट्रेकिङ्ग एजेन्सिज एसोसिएसनका अध्यक्ष खुमबहादुर सुवेदीले अनलाइन तथा अनअराइभल भिसा प्रदान गरिनुपर्ने तथा पर्यटकसँग नेपाल भित्रिसकेपछि पिसिआर टेष्ट अनिर्वाय गर्ने सो अवधिका लागि क्वारेन्टाइनको समय तीन दिनमा सिमित गर्ने तथा पिसिआर रिपोर्ट नेगेटिभ भएमा जुनसुकै गन्तव्यमा जान पाउनु पर्ने व्यवस्था हुनुपर्ने बताए ।

यसैगरि पर्वतारोहण संघका अध्यक्ष शान्तविर लामाले यात्रा बीमा अनिवार्य गर्ने तथा नेपाल सरकारले जारी गर्ने प्रोटोकलमा होटल, ट्राभल एजेन्सी, ट्रेकिंङ्ग एजेन्सी, यातायात कम्पनी र सबै कर्मचारीहरूले पालना गराउन प्रतिवद्धता पनि व्यक्त गरे । परिसंघको पर्यटन समितिका संयोजक पम्फा धमलाले कुनै पर्यटक, यात्रु वा पर्यटन क्षेत्रका सम्बद्ध कर्मचारीलाई कोभिड संक्रमण भेटिएमा उपचार र कन्ट्याक्ट ट्रेसिङ्ग गर्ने तर यसकै आधारमा उडान रद्द गर्ने वा होटल सिल गर्ने अवस्थामा जानु हुँदैन भन्नेमा जोड दिए । होटल मेरियटका प्रवन्ध निर्देशक गौरव अग्रवालले ठूला होटलहरुका लागि पुनर्कर्जाको रकम बढाउनु पर्नेमा ध्याना कर्षण गराए ।

वेबिनारको समापन गर्दै परिसंघका उपाध्यक्ष अनुज अग्रवालले पर्यटन क्षेत्रले पर्यटन उद्योग मात्र नभई समग्र अर्थतन्त्रमा प्रभाव पार्ने परिसंघको मान्यता रहेकोले छलफल आयोजना गरेको बताए । पर्यटन क्षेत्रलाई सुचारु गर्न र पुनर्उत्थान गर्न सरकारले दिने राहत समयमै प्राप्त नभएमा अर्थतन्त्र र पर्यटन उद्योग थप समस्यामा जाने पनि उपाध्यक्ष अग्रवालले उल्लेख गरे ।