आधारभूमि संवाददाता
काठमाडौ ,४ असोज
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल भएको छ ।
आइतवार पार्टी कार्यालय पेरिसडाडाँमा बसेको बैठकमा नेताहरुले यसबारे आ आफ्नो धारणा राखेका हुन् । मन्त्रिपरिषद् पुनर्गठनबारे विभिन्न कोणबाट छलफल भएको छ प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बैठकपछि वताएका छन् ।
‘मन्त्रिपरिषद्को पुर्नगठन स्थायी कमिटिको निर्णयअनुसार गर्ने निर्णय भएको छ, नीतिगत रुपमा पुनर्गठनका विषयमा सुझाव दिइएको छ,’ उनले भने ।
श्रेष्ठका अनुसार स्थायी कमिटी र केन्द्रीय कमिटीमा रिक्त रहेको स्थानमा पदपूर्ति, कारबाहीका विषयमा छलफल भएको छ ।
प्रवक्ता श्रेष्ठले को मन्त्री हुने सन्दर्भमा भने आज कुनै छलफल नभएको बताए । यस्तै संवैधानिक आयोगमा हुने राजनीतिक नियुक्तिका विषयमा पनि सरकारलाई निर्णय गर्न सहज हुनेगरी बैठकमा छलफल भएको उनले जानकारी दिए ।
नेकपा सचिवालय बैठक भोलि फेरि बस्ने गरी सकिएको छ ।