neapl investment mega bank
  • गृहपृष्ठ
  • मिर्गौलापीडितको उपचारका लागि फेसबुकले जुटायो ११ लाख

मिर्गौलापीडितको उपचारका लागि फेसबुकले जुटायो ११ लाख

Sep 20th, 2020

मुग्लिन, ४ असोज /रासस

दुवै मिर्गौला फेल भएका चितवनको इच्छाकामना गाउँपालिका–३ चैवुङका १९ वर्षीया शर्मिला गुरुङको उपचारका लागि रु ११ लाख ८५ हजार रकम सङ्कलन भएको छ । सामाजिक अभियानकर्मी कृष्ण घोताने गुरुङले सामाजिक सञ्जाल फेसबुकमा गरेको आह्वानबाटै उक्त रकम सङ्कलन भएको हो ।

देश विदेशमा रहेका ११७ व्यक्ति तथा सङ्घसंस्थाले उक्त रकम सहयोग गरेको तमु ह्युल छोंज धीँ गुरुङ राष्ट्रिय परिषद्का वाग्मती प्रदेश सदस्यसमेत रहनुभएका समाजसेवी एवं व्यवसायी घोतानेले बताउनुभयो । “कोरोना महामारीको यो विषम परिस्थितिमा पनि रकम सहयोग गरेकामा सहयोग गर्ने सबै मनकारी महानुभावलाई म धेरैधेरै धन्यवाद व्यक्त गर्दछु”, उहाँले भन्नुभयो ।

विगत चार वर्षदेखि दुवै मिर्गौला फेल भई उपचाररत गुरुङको पुरानो मेडिकल कलेज भरतपुरमा डायलासिस भइरहेको छ । आर्थिक अवस्था कमजोर रहेका गुरुङको उपचारका क्रममा धेरै रकम खर्च भइसकेको र थप उपचारका लागि अर्थाभाव भएको भन्दै विभिन्न अनलाइन मिडियामा समाचार प्रकाशन प्रसारण भएको थियो । सोही समाचार पढेर पीडितका लागि आफूले केही पहल गर्न सकिन्छ भनेर आर्थिक सहयोग सङ्कलनका लागि अभियान चलाएको घोतानेले बताउनुभयो ।

पीडितको उपचारका लागि सङ्कलित रकम शनिबार भरतपुरमा रहेको तीनखोले गुम्बामा एक औपचारिक कार्यक्रम गरी पीडितलाई हस्तान्तरण गरिएको छ । अभियानकर्मी घोतानेले विभिन्न व्यक्तित्वहरुको उपस्थितिमा पीडितका परिवारलाई रकम हस्तान्तरण गर्नुभयो ।

मिर्गौलापीडितलाई साढे छ लाख सहयोग

दमौली– तनहुँको व्यास नगरपालिका–१४ निवासी दुवै मिर्गौलापीडित सन्तोष राना मगरलाई साढे छ लाखभन्दा बढी आर्थिक सहयोग प्रदान गरिएको छ । ‘सन्तोष बचाउ अभियान’ मार्फत देश तथा विदेशबाट प्राप्त भएको रु छ लाख ५८ हजार ६२४ पीडितको उपचारका लागि हस्तान्तरण गरिएको हो ।

सन्तोष बचाउ अभियानका संयोजक युवराज आलेले वैदेशिक रोजगारीका लागि विदेशमा रहेका नेपाली, जिल्लाभित्रकै विभिन्न व्यक्ति तथा सङ्घसंस्थाबाट सहयोग रकम सङ्कलन गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार सन्तोषको उपचारका लागि जापानमा बस्ने केशवटारवासीले रु दुई लाख सहयोग गर्नुभएको छ । “मिर्गौलापीडित सन्तोषका बारेमा जानकारी पाएपछि उनको उपचारका लागि आर्थिक सहयोग सङ्कलन अभियान सञ्चालन गर्याँै, उक्त अभियानमा सबैले सहयोग गरिदिनुभयो”, आलेले भन्नुभयो, “सङ्कलन भएको रकमले पीडितको उपचारमा सहयोग पुग्ने विश्वास लिएका छौँ ।” रानाको मिर्गौला प्रत्यारोपणका लागि सङ्कलन गरिएको रकमले पुग्ने भएपछि हाललाई उक्त अभियान स्थगन गरिएको जानकारी दिनुभयो ।

मिर्गौलापीडित सन्तोषको उपचारका लागि अमेरिकामा पनि रु छ लाखभन्दा बढी रकम सङ्कलन भएको छ । न्यूयोर्कमा आशिष थापा र कुलदीप राना मगरको पहलमा दुई हजार ६८१ अमेरिकी डलर र टेक्सासमा भीम थापाको पहलमा दुई हजार ७७० डलर सङ्कलन भएको छ । टेक्सासमा रहनुभएका थापाले जिल्लावासी युवकलाई परेको पीडामा सघाउन अमेरिकामा रहेका नेपालीहरुबाट रकम सङ्कलन गरिएको जानकारी दिनुभयो ।

गत वर्षदेखि दुवै मिर्गौलाले काम गर्न छाडेपछि रानाले पोखरास्थित फिस्टेल हस्पिटलमा डायलासिस गर्दै आउनुभएको छ । मिर्गौला प्रत्यारोपणका लागि ठूलो रकम आवश्यक पर्ने भएकाले सन्तोषले सहयोगको अपिल गर्दै आउनुभएको थियो । प्राप्त रकमले अब मिर्गौला प्रत्यारोपणका लागि सहयोग पुग्ने भएकाले बाँच्ने आशा पलाएको सन्तोषले बताउनुभयो ।