आधारभूमि संवाददाता
काठमाडौ, भदौ ३०
सरकारले असोज १ गतेदेखि नै आन्तरिक उडान र लामो दूरीको यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले हवाई उडान र सार्वजनिक यातायात असोज १ गतेदेखि नै पुनः सञ्चालन गर्ने जानकारी दिए ।
मन्त्री ज्ञवालीका अनुसार यात्रु राख्दा क्षमताको ५० प्रतिशतमात्र राख्नुपर्नेछ, बसको एक लहरको सिटमा एक जना मात्र बस्न पाइनेछ । सवारी चलाउँदा भाडा ५० प्रतिशतसम्म बढी लिन पाइनेछ। यात्रुहरूले अनिवार्य मास्क लगाउनु पर्नेछ भने ढोका र गाडीभित्र अनिवार्य स्यानिटाइजरको व्यवस्था गरेको हुनुपर्नेछ।
चीनको वुहानमा कोभिड–१९ सङ्क्रमण फैलिएको गत वर्षको अन्त्यतिर सार्वजनिक भएको भएपनि नेपालमा पहिलो सङ्क्रमित विरामी चैतमा भेटिएको थियो । गत चैत ११ गतेदेखि सरकारले लकडाउन घोषणा गरेयता आन्तरिक उडान बन्द गरेको थियो । व्यवसायीले सार्वजनिक यातायात खुलाउन माग गर्दै आएपनि सरकारले सञ्चालनको अनुमति दिएको थिएन ।