काठमाडौ, भदौ २९
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि पाकिस्तानका राजदूत मजार जावेदले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । आफ्नो कार्यकाल सकिएर स्वदेश फर्कनुअघि भएको अध्यक्ष तिमिल्सिनासँग भएको भेटमा दुईपक्षीय सम्बन्ध, सहकार्य र सहयोग बारे कुराकानी भएको थियो । भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले कार्यकाल सफलतापूर्वक सम्पन्नक गर्नुभएकोमा राजदूत जावेदलाई बधाई व्यक्त गर्दै आगामी दिनमा थप सफलताको कामना गर्नुभयो ।
नेपाल र पाकिस्तानबीच कुटनीतिक सम्बन्ध स्थापना भएदेखि निकट र आत्मीय सम्बन्ध रहँदै आएको तिमिल्सिनाले बताउनुभयो । उहाँले दक्षिण एसियाली क्षेत्रीय संगठन, संयुक्त राष्ट्रसंघ, अन्तर व्यवस्थापिका संघ लगायतका संस्थामा दुई देश एकैठाउँमा रहेकाले हाम्रो सम्बन्ध सौहार्दपूर्ण रहेको धारणा राख्नुभयो । अध्यक्ष तिमिल्सिनाले व्यापार, लगानी, पर्यटन, संस्कृति, जनस्तरको सम्बन्ध जस्ता धेरै क्षेत्रहरु दुई मुलुकले सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।
’कोरोना भाइरसको महामारीको कारण संसारमा नयाँ चुनौती सिर्जना भएको छ । यसले हाम्रा दुई देशहरूलाई पनि असर गरेको छ,’ उहाँले भन्नुभयो, ’पारस्परिक साथ र सहयोगले हामीलाई यस महामारीविरुद्ध लड्न मद्दत गर्दछ । उहाँले क्षेत्रीय संगठन सार्कका सदस्य राष्ट्रले अहिलेको चुनौति सामना गर्न सहकार्य गर्न जरुरी रहेको बताउनुभयो ।
’दक्षिण एशियाली जनताहरूको हित प्रबर्द्धनका लागि सार्कले आफ्ना गतिविधि अघि बढाउनुपर्छ,’ अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, ’सार्कको अध्यक्षको हैसियतले नेपालले सार्क गतिविधि अघि बढाउनका लागि पहल गरिरहेको छ । उहाँले नेपाली विद्यार्थीहरूलाई मेडिकल, इन्जिनियरिङलगायत विषयको अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्दै आएकोमा पाकिस्तान सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो ।
अध्यक्ष तिमिल्सिनाले दुई देशको सम्बन्धलाई मजबुद बनाउन उच्चस्तरीय भ्रमणको आवश्यक रहेको धारणा राख्दै उहाँले पाकिस्तान सिनेटका अध्यक्ष मुहम्मद सादिक सन्जरानीलाई नेपाल भ्रमणका लागि निम्ता गर्नुभयो । ’दुई देशबीचको संसदीय अनुभवहरू आदान प्रदान गर्न र आवश्यक सहकार्य गरेर अघि बढ्नु दुवै देशको हितमा हुन्छ,’ उहाँले भन्नुभयो, ’संसदीय सहकार्यमा दुईपक्षीय तथा अन्तर्राष्ट्रिय फोरमा हामीले सहकार्य गर्नुपर्छ ।
भेटमा राजदूत जावेदले दुई देशको सम्बन्ध अत्यन्त सौहार्दपूर्ण रहेको बताउँदै नेपालमा रहँदा सरकार र जनस्तरसम्म नजिकबाट सहकार्य गर्नपाएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले पाकिस्तान दक्षिण एसियाली देशको सहकार्य, स्थायित्व, शान्ति, समृद्धीको पक्ष रहेको बताउनुभयो । दुई देशको संसदबीचको सहकार्य बढाउनुपर्ने बताउँदै राजदूत जावेदले संसदीय मैत्री समूहमार्फत गतिविधि बढाउनुपर्ने धारणा राख्नुभयो । ’यहाँको पाकिस्तान भ्रमणका लागि हाम्रो सिनेट अध्यक्षले निमन्त्रणा गरिसक्नुभएको छ, उहाँले भन्नुभयो, ’पाकिस्तान संसद यहाँको स्वागतको प्रतिक्षामा रहेको छ ।