neapl investment mega bank
  • गृहपृष्ठ
  • दोलखाको तामाकोशी गाउँपालिकाले सबै नागरिकको कोरोना बीमा गर्ने

दोलखाको तामाकोशी गाउँपालिकाले सबै नागरिकको कोरोना बीमा गर्ने

Sep 14th, 2020

दोलखा, २९ भदौ रासस

दोलखाको तामाकोशी गाउँपालिकाले आफ्ना सबै नागरिकको कोरोना बीमा गरिदिने भएको छ ।

मुलकमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले आफ्ना सबै नागरिकको कोरोना बीमा गरिदिने निर्णय भएको तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले बताउनुभयो ।

व्यक्ति, सहकारी र स्थानीय तहको लागत साझेदारीका आधारमा कोरोना बीमा गर्ने जनाएको छ । चालू आर्थिक वर्षमा पहिलो चरणमा कूल जनसङ्ख्याको ४८ प्रतिशत नागरिकको कोरोना बीमा गर्ने योजना छ । कूल २५ हजार जनसङ्ख्या रहेको सो गाउँपालिकाले पहिलो चरणमा १२ हजारको कोरोना बीमा गर्ने योजना ल्याएको सो गाउँपालिकाले जनाएको छ । सहकारीको संस्थागत सहयोग तथा साझेदारी कार्यक्रमअन्तर्गत रहेको रु नौ लाख खर्च गरेर उनीहरुको कोरोना बीमा गरिदिने निर्णय भएको अध्यक्ष पोखरेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सो बजेटले नपुगे आकस्मिक कोषबाट रकमान्तर गरेर भए पनि सबै नागरिकको बीमा गरिदिने छौँ ।”

सहकारीको सदस्य भएमा सहकारीले रु १००, व्यक्तिले रु १०० र गाउँपालिकाले रु १०० तिर्ने गरी बीमा गरिदिने व्यवस्था गरिएको तामाकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रले जानकारी दिनुभयो । सहकारीको सदस्य नभएमा बीमा गर्ने व्यक्तिले २०० तिर्नुपर्ने र त्यसमा गाउँपालिकाले १०० थप गरी बीमा गरिदिने मिश्रले जानकारी दिनुभयो ।

तामाकोशी गाउँपालिकामा हालसम्म एक जनामा पनि कोरोना सङ्क्रमण नदेखिएको भए पनि बीमा कार्यक्रमबाट नागरिकले भरपुर लाभ लिनसक्ने गाउँपालिकाको अपेक्षा रहेको सो गाउँपालिकाका वडा नं १ का अध्यक्ष महेश काफ्लेले बताउनुभयो ।