neapl investment mega bank aadharbhumi

घुम्थाङमा पहिरो : मृतक नौ जनाको सनाखत

Sep 13th, 2020

सिन्धुपाल्चोक, २८ भदौ /रासस

बाह्रबिसे–७ घुम्थाङमा पहिरो जाँदा पुरिएका नौ जनाको शव भेटिएको छ । इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले मृतक सबैको सनाखत भएको जानकारी दिनुभयो । उहाँका अनुसार पहिरामा ज्यान गुमाउनेमा नागपुजे गाउँका ६३ वर्षीया भक्तिमाया श्रेष्ठ, ९८ वर्षीय ट्याक्से शेर्पा र ४२ वर्षीया ज्ञानीमाया प्रधान, भिरखर्क विक टोलका २३ वर्षीया जुनु विक, २४ वर्षीय सुकुलाल विक, आठ वर्षीय सन्देश विक तथा नेवार टोलका ६० वर्षीया सर्किनी नेवार, ६५ वर्षीय धनलाल नेवार र ४२ वर्षीया हीरामाया श्रेष्ठ छन् । क्षतिको विवरण सङ्कलन भइरहेको छ । पहिरामा २२ जना अझै बेपत्ता छन् । भिरखर्क पहिरामा बेपत्तामध्ये पाँच जनाको उद्धार गरिएको छ । पुरिएका अवस्थामा फेला परेका उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ ।

पहिरो प्रभावितलाई तत्काल सहयोग हुन्छ ः सभामुख सापकोटा

चौतारा : सभामुख अग्निप्रसाद सापकोटाले आज बाह्रबिसे नगरपालिका–७ घुमथाङको भीमखर्कमा र नाकबुच्चेमा गएको पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी पहिरो प्रभावितलाई तत्काल सहयोग हुने जानकारी दिनुभयो ।उहाँले भौगोलिक अध्ययन गराएर यहाँको बस्ती सार्नुपर्ने÷नपर्ने विषयमा राष्ट्रियस्तरमै पहल गरिने प्रतिबद्धता जनाउनुभयो । “पीडित परिवारका लागि तत्काल राहतको व्यवस्था हुन्छ नै”, सभामुख सापकोटाले भन्नुभयो ।

गए राति गएको पहिराले ११ घर क्षति भई नौ जनाको मृत्यु भएको छ भने २२ जना बेपत्ता भएका छन् । तीन घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो ।

यसैगरी आज बिहान गएको पहिराले जुगल गाउँपालिका–४ चनौटेमा तीन घर पूर्ण रुपमा क्षति भई स्थानीयवासी विमला पौडेल घाइते हुनुभएको छ । त्यस्तै वडा नं १ सेलाङको देउरालीमा पहिराले सात घरका परिवार विस्थापित भएको गाउँपालिकाका उपाध्यक्ष सिर्जना तामाङले जानकारी दिनुभयो ।

आआफ्ना ठाउँबाट लागौँ : मन्त्री दुलाल

वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले प्राकृतिक विपत्तिको सामना गर्नाको विकल्प नरहेको बताउनुभएको छ । उहाँले बाह्रबिसे नगरपालिका–७, घुम्थाङ नागपुजेमा आएको पहिराबाट भएको क्षतिले आफू अत्यन्त दुःखित भएको सामाजिक सञ्जालमार्फत जनाउनुभएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi