neapl investment mega bank aadharbhumi

दमौलीमा चार दिनदेखि फोहर उठेन

Sep 13th, 2020

दमौली, २८ भदौ /रासस

तनहुँको सदरमुकाम दमौलीस्थित पृथ्वीराजमार्गसँगै जोडिएको सफा सडकमा फोहरको डुङ्गुर छ । सफासडक नमूना टोल व्यवस्थापन समितिले सफा सडकमा फोहर फालेमा रु एक हजार जरिवाना गर्ने सार्वजनिक सूचना टाँसेको छ तर सोही सूचनाको तल फोहरको डुङ्गुर थुपारिएको छ ।

सफा सडकबाट थोरै माथि व्यास नगर अस्पताल जाने बाटोमा पनि त्यस्तै फोहरको डुङ्गुर छ । बोराका बोरा फोहरको डङ्गुर ल्याएर जथाभावी फालिएको छ । यी दुई ठाउँमा मात्रै होइन, यतिबेला दमौलीका विभिन्न टोलमा पनि फोहरको यस्तै डङ्गुर देख्न सकिन्छ ।

व्यास नगरपालिकाले फोहर विसर्जन गर्दै आएको भतेरी मादी नदीले कटान गरिदिएपछि बजार क्षेत्रबाट फोहर उठाउन समस्या भएको छ । नगरपालिकाले केही दिनअगाडि सूचना नै प्रकाशित गरेर भदौ २७ गतेसम्म फोहर उठाउन नसकिने भएकाले घरबाहिर फोहर ननिकाल्न सर्वसाधारणलाई आग्रह गरेको थियो तर सर्वसाधारणले उक्त सूचनालाई अटेर गर्दै दमौलीका विभिन्न स्थानमा जथाभावी फोहरको डङ्गुर फालिदिएका छन् ।

नगरपालिकाले फोहर फाल्ने ठाउँको व्यवस्था नभएकाले बजार क्षेत्रबाट फोहर उठाउन नसकिएको जनाएको छ । नगरपालिकाका सरसफाइ उपशाखा प्रमुख भाग्यशाली ढुङ्गानाले नदीले वर्षौँदेखि फोहर फाल्दै आइएको ठाउँ कटान गरिदिएपछि समस्या उत्पन्न भएको बताउनुभयो ।

ढुङ्गानाले फोहर फाल्ने वैकल्पिक स्थानको खोजी भइरहेको जानकारी दिँदै दुई दिनपछि फोहर उठाउन सकिन्छ कि भन्ने लागेको बताउनुभयो । “शुक्रबार पनि सोही विषयमा छलफल भयो, व्यास–४ र १० को बीच भागमा फोहर फाल्ने स्थान बनाउनका लागि पनि प्रक्रिया शुरु भइसकेको छ, अन्यत्र पनि ठाउँ खोज्दैछौँ”, उहाँले भन्नुभयो ।

केही समय अगाडि मादीमा आएको बाढीले भतेरी जाने बाटो र फोहर फाल्ने ठाउँ नै कटान गरिदिएको थियो । लगत्तै नगरपालिकाले अस्थायीरूपमा बाटो बनाएर फोहर फाल्ने ठाउँ बनाएको थियो तर उक्त ठाउँ कटान भएपछि भतेरीमा फोहर फाल्न रोकिएको छ ।

व्यास–४ र १० को बीचमा पर्ने माथिल्लो भतेरीमा फोहर फाल्ने ठाउँ बनाउन वडाध्यक्ष विश्वराज न्यौपानेको संयोजकत्वमा वातावरणीय अध्ययन समिति गठन गरिएको छ । नगरपालिकाले बजार क्षेत्रको वडा नं २, ३ र ४ बाट दैनिकरूपमा फोहर सङ्कलन गर्दै आएको छ । नगरपालिकाका बजार क्षेत्रबाट दैनिक ११ टन फोहर सङ्कलन हुने गरेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi