neapl investment mega bank
  • गृहपृष्ठ
  • राष्ट्रिय सङ्कट व्यवस्थापनमा सबै एक जुट हुनुपर्छ : मन्त्री गुरुङ

राष्ट्रिय सङ्कट व्यवस्थापनमा सबै एक जुट हुनुपर्छ : मन्त्री गुरुङ

Sep 11th, 2020

परासी, २६ भदौ /रासस

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले राष्ट्रिय सङ्कट व्यवस्थापनमा सबै नेपाली एकजुट हुनुपर्ने बताउनुभएको छ । सिद्धार्थ लेडी जेसीजको आतिथ्यतामा आजदेखि शुरु भएको नेपाल जेसीजको भर्चुअल क्षेत्र घ सम्मेलनको उद्घाटन गर्दै उहाँले युवा एकतामा जोड दिनुभएको हो ।

समृद्ध नेपाल, सुखी नेपालीको नारालाई साकार पार्न नेपाल जेसीज सहयात्री बनेको उल्लेख गर्दै उहाँले युवाको सहजिकरण र एकताबाट अहिलेको राष्ट्रिय सङ्कटलाई समाधान गर्न सकिने बताउनुभयो ।

नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष अशोक शङ्करले महामारीका बेला पनि देशभरका जेसीज शाखा कोभिड–१९ को रोकथामका लागि निरन्तर सक्रिय रहेको बताउनुभयो । उहाँले युवा सकरात्मक र समृद्ध हुनुपर्नेमा जोड दिदैँ एकजुट भएर राष्ट्र विकासमा लाग्न आह्वान गर्नुभयो ।

कोभिड–१९ सङ्क्रमणको जोखिमका कारण नेपाल जेसीजको ईतिहासमा पहिलो पटक अनलाइनबाट क्षेत्रीय सम्मेलन गरिएको निरुपित राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष शोभा खरेलले बताउनुभयो । शनिबारसम्म चल्ने सम्मेलनमा गैँडाकोटदेखि पश्चिमका क्षेत्र घ अन्र्तगतका शाखासहित देशभरका जेसीज शाखाबाट पनि भर्चुअल सहभागिता रहेको सिद्धार्थ लेडी जेसीजकी अध्यक्ष तुल्सा भुसाल पाण्डेले जानकारी दिनुभयो ।

युवाको व्यक्तित्व र नेतृत्व विकास गर्दै सकारात्मक तथा रचनात्मक कार्यका लागि संस्थागतरुपमा अगाडि बढाउन सन् १९६४ मा भारतको गोरखपुर जेसीजको मातृत्वमा नेपाल जेसीजको स्थापना भएको हो । नेपाल जेसीजअन्तर्गत हाल देशभर १५० बढी शाखा छन् । भौगोलिकतालाई हेरेर नेपाल जेसीजका शाखालाई क्षेत्र क, ख, ग र घ गरी चार क्षेत्रमा वर्गीगकरण गरिएको छ ।