काठमाडौँ, २६ भदौ /रासस
नेपाल रेडक्रस सोसाइटीले कोभिड–१९का सङ्क्रमितको उपचारमा सहयोग पु¥याउन प्लाज्मा थेरापीको लागि रगत सङ्कलन शुरुआत गरेको छ । बुधबार सोसाइटीको केन्द्रीय कार्यालयमा अवस्थित केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रमा ३९ वर्षीय खिमबहादुर रानाभाटले प्लाज्मा थेरापीका लागि रक्तदान गर्नुभएको थियो ।
कोरोनामाथि विजय हासिल गर्नुभएका तनहँु घर भई हाल काठमाडौं बस्दै आउनुभएका उहाँले पहिलो पटक रक्तदान गर्नुभएको जनाइएको छ । उहाँले भन्नुभयो,“ कोरोना जित्नु भएकाहरुलाई म रक्तदानका लागि अनुरोध गर्दछु । मैले कहिल्यै रक्तदान गरेको थिइन । कोरोना सङ्क्रमण निको भएपछि पहिलो पटक रक्तदान गरेँ । आफ्नो रगतले अरु सङ्क्रमितलाई सहयोग पुग्छ भन्ने थाहा पाएपछि रक्तदान गरेको हुँ । ”
नेपाल स्वास्थ्य अनुसन्धान परिषदको अनुरोधमा विभिन्न संस्थाहरुसँगको सहकार्यमा सोसाइटीले प्लाज्मा थेरापीको लागि रगत सङ्कलन सेवा शुरु गरेको केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक डा मनिता राजकर्णिकारले जानकारी दिनुभयो । सोसाइटी र नेपाल चिकित्सक संघका बीच रगत संकलनमा सहकार्य गने बुधबार सात बुँदे सम्झौतामा हस्ताक्षर भएको थियो ।
सोसाइटीका अध्यक्ष डा नेत्र तिमिल्सिना र संघका अध्यक्ष डा लोचन कार्कीले दाताहरुको नाम संकलन गरी प्लाज्मा बैंक स्थापनामा सहकार्य गर्दै अगाडी बढ्ने गरी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो । सम्झौताबमोजिम सोसाइटीले प्लाज्मा दानका लागि प्रविधिक जनशक्ति, प्लाज्मा ब्याग लगायत आवश्यक सामग्रीहरुको व्यवस्थापन तथा प्लाज्मा बैंकको स्थापना गर्नेछ ।
त्यसमा संघले प्लाज्मा संकलनका लागि कोभिड–१९ सङ्क्रमिण भई निको भएका नागरिकहरु, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको विवरण संकलन गरी प्लाज्मा दान गर्न सरोकारवाला दाताहरुसँग समन्ययनकारी भुमिका निर्वाह गर्नेछ । सोसाइटीको समन्वयनमा प्लाज्मा दान गर्ने दाताहरुको सम्मानका लागि आवश्यक तयारी गरिएको छ । सो अवसरमा सोसाइटीका अध्यक्ष डा तिम्सिनाले समग्र रक्तसञ्चार सेवामा रेडक्रस एक्लो ‘एक्टर’ होइन र ‘कन्सोटियम’को अवधारणा लिई साझा दायित्व बहन गर्न सवै सरोकारवालाहरुलाई अनुरोध गर्नुभयो ।
कार्यक्रममा उपस्थित काठमाडौँ महानगरपालिका वडा नं। २५ का अध्यक्ष निलकाजी शाक्यले रक्तदानका लागि वडामा बसोबास गर्नुहुने सङ्क्रमण निको भएकाहरुको खोजी गर्ने र रक्तदानमा उत्प्रेरीत गर्ने कार्य महानगरपालिका वडा नं। २५ र २७ ले गरिरहेको जानकारी दिनुभयो । लायन्स क्लब ब्लडसर्कलले रक्तदान गर्नेहरुलाई उत्प्रेरणा र सम्मान गर्ने गरी समन्वय गरिएको पनि वडाध्यक्ष उहाँले बताउनुभयो ।
सामाजिक दुरी कायम गरी आयोजना गरिएको कार्यक्रममा सोसाइटीका उपाध्यक्ष शर्मिला कार्की, कोषाध्यक्ष सिताराम कोइरालासहित पदाधिकारी तथा सदस्य, कामु कार्यकारी निर्देशक सुर्दशन अधिकारी, चिकित्सक संघका पदाधिकारी, रक्तसञ्चार विशेषज्ञ डा बिपिन नेपाल र लायन्स क्लबका प्रतिनिधिहरुको उपस्थिति थियो ।
स्थानीय अस्पतालसँगको सहकार्यमा रेडक्रसका सुनसरी, चितवन, भक्तपुर, बुटवल, नेपालगञ्ज, र कैलालीमा रहेका रक्तसञ्चार सेवाले प्लाज्मा थेरापीको लागि रक्तसंकलन सुरु गरिसकेको सोसाइटीले जनाएको छ । धनुषा र पोखरामा पनि यस्तो सेवा छिटै सुरु गरिने जनाइएको छ ।
प्लाज्मा थेरापी उपचारको प्रभावकारिता अहिले पनि अनुसन्धानकै क्रममा रहेको चिकित्सकहरुले बताएका छन् । प्लाज्मा दान गर्दा दाताहरुलाई कुनै पनि शारीरिक तथा मानसिक असरहरु नपर्ने चिकित्सक संघले जनाएको छ । संघका अध्यक्ष डा. कार्कीले नागरिकहरुको जीवन रक्षा गर्ने पवित्र कार्यमा संलग्न हुन सरोकारवालाहरुलाई आग्रह गर्नुभएको छ । सोसाइटीका महामन्त्री पिताम्बर अर्यालले कोरोनाको जोखिम हुन नदिन सोसाइटीले प्रतिकार्यका काम गरिरहेको बताउनुभयो । सोसाइटीका विपद् व्यवस्थापन विभागका निर्देशक मोना अर्यालले कोभिड–१९ को सङ्क्रमणको जोखिम न्युनिकरणका लागि सोसाइटीले समुदायमा स्वच्छता प्रवद्र्धन र सचेतनाका कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।