नवलपरासी(पूर्व), २२ भदौ
छिमेकीलाई कुटपिट गरेको तथा धारिलो हतियार चक्कु प्रहार गरी घाइते बनाएको अभियोगमा २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मध्यबिन्दु नगरपालिका-४ लुस्लेरी बस्ने ६२ वर्षीय मोतिराम परियार र उनकै छोरा १९ वर्षीय राजु परियार रहेका छन् । विवादको क्रममा छिमेकी ४५ वर्षीय दान बहादुर परियार र २३ वर्षीय अर्जुन परियारलाई कुटपिट गरी धारिलो हतियार चक्कु समेत प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कोल्हुवाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । घाइते दुबै जनालाई जिल्ला अस्पताल डण्डा मध्यबिन्दु हुँदै थप उपचारको लागि भरतपुरतर्फ पठाइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।