वाग्मती, २० भदौ /रासस
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कृषिउपजमा प्रदेशलाई आत्मनिर्भर बनाउन सरकार लागिपरेको बताउनुभएको छ । कृषि उद्यमको अनुगमनका क्रममा आज हेटौँडाका विभिन्न क्षेत्र पुग्नुभएका उहाँले सरकारले उद्यमशीलता वृद्धि गरी उत्पादन बढाउन तथा रोजगारी सिर्जना गर्न प्रभावकारी कार्यक्रम तयार पारेको बताउनुभयो ।
उहाँले उद्योग, व्यापार व्यवसाय, पर्यटन उद्योग, शैक्षिक कार्यक्रम, लघु तथा साना उद्योग, वन तथा वातावरणजन्य उद्योग, फोहरमैला व्यवस्थापन, सामाजिक क्षेत्रसँग सम्बन्धित उद्योगलगायत उत्पादन र रोजगारी सिर्जना हुने कार्यक्रमका लागि सहुलियत पूर्ण ब्याजदरमा ऋण उपलब्ध गराउन रु तीन अर्बको कोषको निर्माण गर्न प्रदेश सरकारले बजेटको व्यवस्था गरेको जानकारी दिनुभयो ।
पौडेलले यो कोषमार्फत उद्यमशीता प्रवद्र्धन गर्न चाहने तथा उत्पादनमा काम गर्न चाहनेले सहुलियतपूर्ण ब्याजदरमा ऋण प्राप्त गर्ने बताउनुभयो । अनुगमनका क्रममा मुख्यमन्त्री पौडेल हेटौँडा उपमहानगरपालिका– ७ मा रहेको वनदेवी कृषि उद्यमी समूह, सूर्योदय बहुउद्देश्य कृषक समूहलगायत कृषि फार्म पुग्नुभएको थियो । कृषि ज्ञान केन्द्र चितवनको अनुदान सहयोगमा सञ्चालित दुई कृषि फार्ममा मात्रै ४० जना कृषक आबद्ध रहेको हेटौँडा– ७ का वडाध्यक्ष राजन थापाले जानकारी दिनुभयो ।
कृषिउपजमा प्रदेशलाई आफ्नै कार्यकालमा आत्मनिर्भर बनाउन लागि पर्नुभएका मुख्यमन्त्री पौडेलले प्रदेशका विभिन्न जिल्लामा सरकारमार्फत अनुदान प्राप्त गरी सञ्चालन भएका कृषि उद्यमको नियमितरुपमा अनुगमन गर्दै आउनुभएको छ । प्रायः कार्यालय बिदाको दिन कृषि केन्द्र पुग्नुहुने मुख्यमन्त्री पौडेल मकवानपुरका अधिकांश कृषि केन्द्र पुगिसक्नुभएको छ ।