neapl investment mega bank
  • गृहपृष्ठ
  • सरकार बेसारमा रमाएको बेला जनतालाई बाँच्न कठिन: राप्रपा अध्यक्ष डा. लोहनी

सरकार बेसारमा रमाएको बेला जनतालाई बाँच्न कठिन: राप्रपा अध्यक्ष डा. लोहनी

Sep 3rd, 2020

काठमाडौ, भदौ १८

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सरकार बेसारमा रमाएको बेला जनतालाई बाँच्न कठिन भएको बताएका छन् । लुटको राज चलाएर सरकार देशलाई बर्बाद गर्न लागेको अध्यक्ष लोहनीले बिहीबार एक सन्देशमा टिप्पणी गरे ।

एकातर्फ पैसा छैन भन्ने अर्कोतर्फ रेल ल्याउने बहानामा, कानूनविपरीत तीस अरबको ठेक्का सेटीङमा बाँडफाँड गर्ने भन्दै उनले सरकारको आलोचना गरे । हरियो मकै बारीमा पसेको साँढेले मनपरी गरे जस्तो अवस्था छ भन्दै लोहनीले देशमा भ्रष्टाचार, लुट ब्याप्त रहेको बताए । उनले भने, ‘अब तपाईँ भन्नुहोस् नेपाली जनताका विरुद्ध नेपालमा को सक्रिय छ ?’

राप्रपा अध्यक्षको तीन बुँदे टिप्पणी निम्न रुपमा छ ।

(१) काठमाडौंमा जतिसुकै बेसार पानी पिए पनि कोभिड संक्रमण बढ्दै छ र काठमाडौंमा बन्देज कायम छ । नेपालका गरिव किसानहरु केही केजी मलको लागि भिडम्भिड गरेर लाममा घन्टौ बस्न बाध्य छन् । तैपनि मल छैन तर बाँच्नको लागि कोभिडको जोखिम मोल्न जनता बाध्य छन् । यसबारे सरकारलाई वास्ता छैन । अर्थमन्त्री को हुने भन्ने कुरो नै सबैभन्दा प्राथमिकतामा परेको छ ।

(२) भारतमा कोभिडको महामारी छ । तर सुदूरपश्चिमान्चलबाट हजारौं युवाहरु कोरोनपिडित भारतमा जाँदै गरेको तस्बीर आजका छापाहरुमा छन् । डा. हेमराज पन्तले भने जस्तो यो भन्दा लज्जास्पद कुरो के हुन्छ ? संकटमा परेको क्षेत्रका जनताको लागि कामको लागि खाद्यान्न व्यवस्था गरी देशभित्रै बाँच्ने वातावरण किन बनाउन नसकेको ? यो देशमा सरकार छ कि लुटको राज छ ?

(३) एकातिर पैसाको अभाव भनिन्छ भने अर्कोतिर मुवाब्जा सम्म वितरण नगरी कानुनविपरित तीस अरबको रेल बनाउने ठेक्का मिलोमतोमा बाँडिन लग्यो भन्ने खबर ब्याप्त छ । तर सरकार मौन छ । हरियो मकै बारीमा पसेको साँढे जसले जे गरे पनि मकै खान नछोड्ने जस्तो उसको चरित्र छ । अब तपाईँ भन्नुहोस् नेपाली जनताका विरुद्ध नेपालमा को सक्रिय छ ?