neapl investment mega bank
  • गृहपृष्ठ
  • विदेशमा यो साता थप तीन जना नेपालीको मृत्यु , संक्रमणको जोखिम कम नभएकोले सावधानी अपनाउन आग्रह

विदेशमा यो साता थप तीन जना नेपालीको मृत्यु , संक्रमणको जोखिम कम नभएकोले सावधानी अपनाउन आग्रह

Aug 30th, 2020

काठमाडौ, भदौ १४

विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा यो साता थप तीन जना नेपालीको मृत्युु भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिवार साँझसम्म विदेशमा मात्र १६ देशमा एक सय ९५ जना नेपालीहरुको निधन भएको हो । समितिका अनुसार यो साता बेलायतमा एक जना र युएईमा दुुई जनाको ज्यान गएको हो ।

स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार साउथ अफ्रिका, पोर्चुगल, स्पेन, कतार साउदी अरब लगायतका देशमा कोरोना संक्रमण सामान्य वृद्धि भएको छ । अष्ट्रेलिया र युरोपका केही देशमा कोभिड–१९ को दोस्रो वेभ (दोस्रो लहर) सुरु भएपछि नेपाली समुदायमा संक्रमण सामान्य रुपमा बढेको हो । हालसम्म विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

कोरोना भाइरसका कारण नेपालसहित बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड, स्वीडेन, भारत, साउथ अफ्रिका लगायत १७ देशमा रहेका नेपालीहरुको ज्यान गएको हो । हाल सम्म नेपाल बाहेक विदेशमा मात्र ३४ हजार सात सय एक जनामा कोरोना संक्रमण देखिएको छ । ३२ हजार पाँच सय ११ जना कोरोना संक्रमणबाट मुक्त भएको स्वास्थ्य समितिले जनाएको छ ।

यस्तै नेपालमा मात्र ३७ हजार तीन सय ४० जना कोरोना भाइरसबाट संक्रमित भएका छन भने ती मध्ये २० हजार पाँच सय ५५ जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमित मध्येको ५५ प्रतिशत हो । शनिबार साँझसम्म नेपालमा २ सय १५ जनाको कोरोनाका कारण ज्यान गएको छ । योसँगै नेपालसहित विश्वभर कोरोना संक्रमणका कारण हाल सम्म चार सय १० जनाको निधन भएको स्वास्थ्य समितिले जनाएको छ ।

संक्रमणको जोखिम कम नभएकोले सावधानी अपनाउन आग्रह

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम कम नभइसकेकोले थप सचेत र सावधान हुन नेपाली समुदायलाई आग्रह गरेको छ । समितिका संयोजक डा सापकोटाले सार्वजनिक स्थल मात्रै नभई बन्द कोठामा गरिने भेला र जमघटले पनि संक्रमण बढाउने भएकाले त्यस्ता खाले कार्यक्रम कम गर्न र गर्नै पर्ने भए सिमित संख्या र सामाजिक दुरी कायम गर्न आग्रह गर्नुभयो ।

डा सापकोटाले कोरोना संक्रमणका क्रममा मनोबल उच्च राख्न समेत आग्रह गर्नुभएको हो । कोरोना संक्रमणको बढ्दो जोखिमले सर्वसाधरणमा एक प्रकारको मनोवैज्ञानिक त्रास उत्पन्न गरेको भन्दै उहाँले उच्च मनोबल कायम गरेर सर्तकता अपनाउनु आग्रह गर्नुभएको हो । आफुलाई पहिलो प्राथमिकतामा राखेर सर्तकता अपनाउनुपर्ने डा सापकोटाको भनाई छ ।

मानसिक तनावबाट सकेसम्म मुक्त हुन एक्लो नबस्न, साथीभाइसँग कुराकानी गर्न, गीतसंगित सुन्न र योग तथा ध्यान गर्न समेत डा. सापकोटाले अनुरोध गर्नुभयो । ’कोभिड–१९’ विरुद्ध भ्याक्सिन आगामी वर्षको पहिलो महिना (जनवरी) भित्र सर्वसाधारणको लागि उपलव्ध हुने अपेक्षा गरिएको बताउँदै उहाँले सचेत र सावधान रही अघि बढ्न आग्रह गर्नुभयो । कोरोना भाइरस विरुद्धको खोप जापान, अमेरिका, रुस, बेलायत, चीन, स्वीट्जरल्याण्ड ड् लगायतका देशमा तीव्र गतिमा उत्पादन र परिक्षणको प्रक्रिया अघि बढेको छ ।

५३ हजार ६ सय ९९ जना नेपालीको उद्धार

विदेशमा अलपत्र परेका ५३ हजार छ सय ९९ जना नेपालीको उद्धार भएको छ । गैरआवासीय आवासीय नेपाली संघ, नेपाल सरकार, विदेशस्थित कूटनीतिक नियोग एवं दूतावासको सहकार्यमा उनीहरुको उद्धार गरिएको हो ।

aadharbhumi
aadharbhumi
aadharbhumi