neapl investment mega bank

तीजः सुनसान देवालय

Aug 21st, 2020

भक्तपुर, ५ भदौ /रासस

नेपाली हिन्दू महिलाको चाड हरितालिकाको दिन हरेक वर्ष भीड हुने भक्तपुरका सबै देवालय आज सुनसान देखिएका छन् । दर्शनार्थी महिलाको भीड हुने र नाचगानमा रमाउने जिल्लाका सानाठूला गरी २० भन्दा बढी देवालय आज सुनसान रहेका छन् ।

सयाँैं वर्षदेखि हजारौँ महिलाको भीड लाग्ने भक्तपुरको प्रसिद्ध गुरु दत्तात्रय मन्दिर पनि आज दिनभरि नै सुनसान छ । तीजको दिन सो मन्दिरमा बिहानैदेखि दर्शन गर्ने महिला र दिनभरि नाचगान गर्नेको घुइँचो हुनेमा यस वर्ष सुनसान हुँदा तीज आएको छनक नै नभएको स्थानीयवासी रमानन्द गिरी बताउनुहुन्छ ।

हरेक वर्ष तीजमा भ्याईनभ्याई हुने टौमढी युथ क्लब यस वर्ष फुर्सदमा छ । हरेक वर्ष टौमढी अर्थात् पाँचतले मन्दिर प्राङ्गणमा पाल टाँगेर जुनसुकै ठाउँबाट आएका महिलाका लागि नाचगान गर्ने व्यवस्थाका साथै रक्तदान गर्ने र सम्मान गर्ने कार्यक्रममा भ्याइनभ्याई हुनेमा यस वर्ष सुनसान बनेको टौमढी युवा क्लबका पूर्वअध्यक्ष विजय धौभडेलले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हरेक वर्ष तीजको दिन बिहान रक्तदान गर्ने, सामाजिक व्यक्तित्वलाई सम्मान गर्ने र ठूलो टेण्ट राखी म्युजिक सिस्टम राखेर भक्तपुर आउने महिलालाई नाचगानको व्यवस्थापन गर्ने गरेका थियौँ, कोरोनाले यस वर्ष सुनसान भयो, तीज आएको हो जस्तो पनि लागेको छैन ।”

सूर्यविनायक नगरपालिका –८ सिपाडोलका डोलेश्वर र आशापुरी महादेव मन्दिरमा हरेक तीजमा हजाराँै महिलाको भीड लाग्ने गरेकामा यसवर्ष सुनसान छ । कोरोना सङ्क्रमण रोक्न मन्दिर बन्द रहेको र प्रशासनको निशेषाज्ञाका कारण मन्दिर सुनसान रहेको वडाध्यक्ष किरण थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “तीज सुनसान भएर केही हुन्न, कोरोना सङ्क्रमण नियन्त्रण भए अर्को साल मनाउन सकिन्छ नि त ।” सूर्यविनायक चोक, सिरुटारको गुप्तेश्वर, सोमलिङ्गेश्वर, चरखण्डीश्वर, अनन्तलिङ्गेश्वर, सुवर्णेश्वर, लटरम्बेश्वरलगायत देवालय पनि सुनसान छन् ।

मन्दिर बन्द भएर घरमै बसेका कतिपय महिलाले भने आफ्नै टोलमा परिवार र छिमेकी भेला भएर नाचगान गरेका छन् । सातदेखि १५ जनासम्म महिला भेला भएर केही टोलमा नाचगान गरेर चित्त बुझाउँदै छन् ।

सूनपा –३ बालकोटकी सुनिता थापा हरेक वर्ष मन्दिर र पार्टी प्यालेसमा भव्य रुपमा नाचगान गरेर तीज मनाउने गरे पनि यसपालि भने परिवार र टोलका आठदश महिला भेला भएर नाचगान गरी तीज मनाएको बताउनुहुन्छ ।

जिल्ला प्रशासन कार्यालयले गरेको निशेषाज्ञाका कारण पनि भक्तपुर सुनसान बनेको छ । औषधि पसल र भित्री सडकमा फाट्टफुट्ट फलफूल एवं किराना पसल खोल्नेबाहेक अरु सबै बन्द छन् । सडकमा मानिसको ओहोरदोहोर नहुँदा सुनसान बनेको छ । लकडाउनमा भक्तपुरमा व्यापक उल्लङ्घन भए पनि अहिले निषेधाज्ञामा भने उल्लङ्घन भएको पाइएको छैन

aadharbhumi
aadharbhumi
aadharbhumi