रुपन्देही, ५ भदौ /रास
प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले तीज जस्ता पर्वमा ठूला खालका जमघटले जोखिम बढ्ने भएकाले पारिवारिक रुपमा मात्रै मनाउन आग्रह गर्नुभएको छ । हरितालिकाका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले कोभिड—१९ को जोखिम न्यूनीकरणका लागि गरिएको लकडाउन र निषेधाज्ञाको पूर्णतः पालना गरेर अघि बढ्न आग्रह गर्दै उहाँले कोभिड—१९ को महामारीलाई जितेपछि आगामी वर्षको तीज विगतमा झैँ भव्य ढङ्गले मनाउन सकिने बताउनुभयो ।
जनचाहना र जनाकाङ्क्षानुसार परिवर्तनलाई संस्थागत गर्ने अभियानमा तीजले सार्थक भूमिका खेल्ने अपेक्षा गर्दै उहाँले विगतका सङ्घर्षबाट प्राप्त उपलब्धिको सही प्रयोग गरेर समतामूलक र समावेशी नेपाली समाज निमार्णको अभियानमा जुट्न आग्रह गर्नुभएको छ ।