neapl investment mega bank
  • गृहपृष्ठ
  • तीज गीतः आपसमा वीरह साट्ने कि एक अर्काको उक्षितो काट्ने ?

तीज गीतः आपसमा वीरह साट्ने कि एक अर्काको उक्षितो काट्ने ?

Aug 20th, 2020

-तारा वाग्ले

काठमाडौँ,४ भदौ

तीज नजिकीएसंगै तीजका गीत मार्फत महिलाले लामो समयदेखि आफूभित्र दविरएर रहेका आवाज छरपष्ट पार्छन् । महिलाको अधिकार र स्वतन्त्रताका रुपमा समेत हेरिने यस पर्वमा महिलाले अरुवेला व्यक्त गर्न नसकेका कुण्ठा, माग तथा विद्रोहका आवज एकजुट भएर समाजका माझमा पोख्छन् ।

खासगरी महिलाले आफूले विहे गरेर लोग्नेको घर गैसकेपछि भोग्नु परेका दुःख पीर व्यथा वर्षदिनको तीजमा माइती आएर आमाबुवा दाजुभाइ दिदीवहिनी तथा साथी संगिनी समक्ष गीत मार्फत पोख्ने गर्छन् ।

कतिपयले गीतमार्फत घरमा ससुरा लोग्ने तथा देवर जेठाजुबाट भएको अन्याय र मानसिक हिंशाको बारेमा खुलेर बोल्छन् भने कतिपयले सासु, देउरानी जेठानी तथा नन्द आमाजुले गरेका रिसराग, इश्र्या तथा विभेद समेटिएका भावना लयवद्ध गरेका हुन्छन् ।

तीजको मौलिक र सांस्कृतिक पाटो नै चेलीले वर्षभरी सहेका अन्याय तथा विभेद समाज र परिवार समक्ष खुलेर भन्न पाउनु हो । जुन हाम्रा जिजु हजुरआमाको पालादेखि चल्दै आएको छ । समाजिक परिवर्तन र विकास संगै तीज गीतमा पनि आधुनीकता भित्रिएको छ ।

तीजमा महिलेलाले आपूmलाई लागेका भावना फरकफरक शैलीमा प्रतुत गरेपनि तिनले समाजको स्वरुव तथा अवस्थाकै सन्देश दिएका हुन्छन् । केही गीतमा महिला विरुद्धका हिंसा पितृसतात्मक सोचका कारण पुरुषद्धारा मात्र हुन्छ भन्ने भाव पाइन्छन् भने अधिबांश गीतमा भने महिलाले महिलाबाटै अन्याय र विभेद सहनु परेको तथा एक अर्काको इश्र्या र कुण्ठा समेटिएका भाव भेटिन्छन् ।

हरेक वर्ष आउने नयाँ नयाँ तीज गीत कतै न कतै महिला नै महिलाको दुस्मन भएको र एक अर्काका प्रतिद्धन्दी रहेको सोचबाट बनेको देखिन्छ । महिलालाई महिलाकै विरोधीका रुपमा चित्रण गरिएको हुन्छ ।

तीजमा बाहिरी रुपमा महिला महिला विच घनिष्ट एकता देखिए पनि तीजमा घन्कीने भाकाले महिलाले महिलाकै उक्षितो काढेको हुन्छ । र, तीज मनाउने महिलाहरु त्यस्तै गीतमा आनन्द लिदैं अधिकार र स्वतन्त्रता पाएकोमा दंग मान्छन् ।

यस वर्ष पनि कतिपय तीज गीत महिलाले महिलाको खेदो खनेको भावबाट चित्रित छन् । राधिका हमालको देउरानी जेठानी गीतमा एकै परिवारका महिला महिला बीच भएका वैमनस्यता साँधिएको छ ।

ओए जेठानी,
सासुको झै शासन लाउने तिम्रो शासन चल्दैन
मेरो पोइले पैसा नदिए चुलो बल्दैन

यस तीज गीतमा देउरानी जेठानीको लामै ठाकठुक चल्छ । बिचबिचमा, घरमुली पुरुषले देउरानी जेठानीको झगडा मिलाइदिनुपरेको छ ।

कति गर्छौ रडाको मिली जुली बसन
किन छुट्टै बस्नुपर्यो शत्रु हसाउन

भन्दै पुरुषहरुले महिलालाई सम्झाएका छन् । दाजुभाई सधै मिलेर बस्न सक्ने तर देउरानी जेठानी आएपछि घर भाडिँने गरेको कथा चित्रण गरिएको छ । घर र समाज विभाजन हुनुमा महिलाकै बढि हात भएको यस गितमा देखाउन खोजिएको छ । देउरानी जेठानीको इश्र्या र रिसारिसबाट शुरु भएको भएको झगडाले अन्नत दाजुभाइविच नै अंशबण्डा भएर सकिएको छ ।

हुन त यो कमेडी शैलीमा बनाइएको काल्पनिक कथा हो तर यसले हाम्रो समाजको यथार्थ चित्रण गरेको छ । हाम्रो समाजमा अधिकांश परिवार विखण्डनमा पुगेका छन् । दाजुभाई एक शुत्रमा बाँडिएर बस्न सक्दैनन् । पैतृक सम्पत्तिमा हानालुछि गर्ने र अन्तमा बृद्ध बावुआमालाई सडक र बृद्धाश्रममा पुरयाउने छोराहरु पनि उत्तिकै छन् ।

कतिपय बुहारीहरु ससुरा तथा देवर जेठाजुको हैकम सहजै स्वीकार्छन चुपचाप अन्याय सहने बानी परेका हुन्छन् तर सासु, जेठानी,देउरानी तथा नन्द आमाजुहरुको सल्लाह समेत मान्न तयार हुदैनन् । महिलाले महिलालाई नगन्ने, नटेर्ने र आफू भन्दा उपल्लो तहमा पुगेको र आफूले भन्दा बढि अधिकार पाएको स्वीकार्न नसक्ने प्रवृतिले समाजमा महिला हिंसा बढाउन मद्दत गरेको छ ।

अरुबेला नजर जुधाएर पुरुषलाई हेर्न नसक्ने महिला पनि तीजमा दिल खोलेर नाच्छन् । आफूविरुद्ध भएका अन्यायमा विद्रोहको शब्द उच्चारण गर्न नसक्ने महिला तीजमा तिनै विरह, विद्रोह र दमन विरुद्धका आवाज गीतमार्फत उलाल्छन् ।

तथापि महिलाले गाएका तथा लेखका गीतहरुमा विभेदकारी सामाजिक संसचना, पितृसत्ताले गरेको दमन र अन्याय भन्दा पनि देउरानी जेठानी सासु नन्द आमाजु तथा साथी संगी संग सम्वन्धीत कुण्ठा इस्र्या रिस द्धेष प्रशस्तै पाइन्छन् ।

प्रिती आले र एकनारायण भण्डारीले एक महिना अघि ल्याएको तीज गीतमा पनि महिला महिला बिचका इश्र्याको गन्ध आएको छ ।

स्कूटर छ भनेर चनमती रमाइछे
हाम्लाइपनि था छैन र क्यारी कमाइछे
कार च्ढ्न गइस कान्छी बुढो पोइलाई रोजेर
चिची पनि पापा पनि पाउन खोजेर

मनोरञ्जनका लागि रचिएको काल्पनिक भावना भएपनि यसले हाम्रो समाजमा महिलाले महिलालाई हेर्ने दृष्टिकोण छरपष्ट पारेबमे छ । साथी संगीसँग प्रत्यक्ष रुपमा भन्न नसकेका कुरा महिलाले तीजमा गीत बनाएर गाउने गरेका छन् ।

यसरी गीतमार्फत महिलाले महिलाकै विरोध गरने प्रवृति पहिले देखिकै हो । महिला सअिकार सशत्तिकरण र एकताको कुरा उठिरहेको अवस्थामा पनि यसरी महिला महिला बिच प्रतिशोध र इश्र्या हुनुले महिला अधिकारको पूर्ण प्रत्याभूति गराउन अझै कयौं जंधार तर्न बाँकी नै छ भन्ने देखाउँछ ।

समाजमा महिला विरुद्ध विभेदकारी व्यवस्था व्याप्त भैरहनमा पितृसत्ता मात्र दोषी छ भन्ने सोच रेडिकल फेमिनिष्ट (अतिबादी महिला)को छ । तर यो सबै अवस्थामा मेल खादैन ।

पछिल्लो समय घर समाज तथा विभिन्न पेशा, रोजगारी तथा कार्यक्षेत्रमा संलग्न महिला तथा व्यवसायिक व्यक्तित्वहरुले महिलाद्धारा महिला कर्मचारीमाथि हुने शोषण र दमनबारे पनि कुरा उठाउन थालेका छन् ।

संयुक्त राष्ट्र संघको नयाँ ग्लोबल रिपोर्टका अनुसार पुरुषले मात्र होइन ९० प्रतिशत महिलाले नै स्त्री जाति सम्बन्धी पक्षपात्पूर्ण धारणा राख्ने गरेका छन् ।

अगष्टको पहिलो साता सार्वजानिक गरेको‘जेन्डर सोसल नर्मस इन्डेक्स’ रिपोर्टले महिलाहरु पनि आफूप्रति अविश्वास र विभेदपूर्ण धारणा राख्ने गरेको जनाइएको छ ।

त्यस्तै पुरुषहरुमा पनि ९० प्रतिशत महिला सम्बन्धी भेदभावपूर्ण सोचरहेको पाइएको हो । पछिल्ला केही वर्षहरुमा विश्व लिङ्ग भेद अन्त्यतर्फ अघि बढ्दै गइरहेको भएपनि महिला अधिकार र समानतालाई अझै मान्छेको विभेदपूर्ण धारणाले नकारात्मक प्रभाव पारिरहेको रिपोर्टमा उल्लेख छ ।

यसैगरी २८ प्रतिशत महिला र २८ प्रतिशत पुरुष, दुवैले पतिले पत्नीमाथि शारीरिक हिंसा गर्नु अनुचित नमान्ने गरेको समेत पत्ता लागेको जनाइएको छ।

७५ वटा मुलुकमा गरिएको रिसर्च र ८० प्रतिशत विश्व जनसङ्ख्याको अध्ययनका आधारमा सो तथ्या पत्ता लागेको हो । यसैविच युएनडीपीले सबै देशमा लैङ्गिक विभेद निरन्तर मानव असमानताका रुपमा रहँदै आएको छ जनाएको छ ।

केही क्षेत्रमा उल्लेखनीय प्रगति भएतापनि धनी वा गरिब, कुनै देशले पूर्ण रुपमा लैङ्गिक समानता हासिल गर्न नसकेको युएनडीपीले उल्लेख गरेको छ ।

विश्व आर्थिक फोरमले प्रकाशित गरेको वार्षिक लैङ्गिक रिपोर्टमा पनि अहिलेका मानिसहरुले आफ्नो जीवनभरमा पनि पूर्ण समानता देख्न नपाउने उल्लेख गरेको थियो । सो रिपोर्टमा लिङ्ग भेद समाप्त हुन थप १०० वर्ष लाग्ने बताइएको छ ।

महिलाले माहिलालाई गरेका उपेक्षाबारे भने अझै मुख खोल्ने वातावरणको विकास भइसकेको छैन् । केही समयअघि अमेरिकामा गरिएको एक अध्ययन अनुसार कार्यालय समयभित्र एक महिला कर्मचारीले अन्य महिला सहकर्मीहरुलाई ८० प्रतिशतभन्दा बढी समय दमन गरिरहेका हुन्छन् ।

महिलाहरुमा हाबी हुने महिलाप्रतिको अचेत पूर्वाग्रहको कारण यस्तो अवस्था आएको अमेरिकी संस्था द वर्कप्लेस बुलिईङ्ग इन्स्टिच्युटले जनाएको छ । सो अध्ययनले कार्यालयभित्र दुई तिहाइ महिलाले अन्य महिला कर्मचारीहरुद्धारा नै प्रताडित हुनुपरेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

यसैगरी, सन् २०१६ मा भएको एक अध्ययनमा कार्यथलोमा शोषित भएका महिलाहरुमध्ये करिव ५७ जनाले आफ्नै महिला सहकर्मीहरुद्धारा शोषणको सामना गर्नुपरेको प्रतिक्रिया दिएका थिए ।

चर्चित पत्रिका फोब्र्सका अनुसार आफ्ना पुरुष सहकर्मीहरुसँग बराबरीको हैसियत हासिल गर्न तथा समानरुपमा अधिकार एवं शक्तिको अभ्यास गर्नका लागि महिलाहरुले दशकौंदेखि संघर्ष गरिरहेता पनि यस्ता संघर्षहरुले सोही अनुरुपको चुनौती ल्याउने गरेको छ ।

कार्यालयमा उँचो स्थान हासिल गर्न सफल महिला कर्मचारीहरुले प्रायजसो सो वातावरणमा टिकिराख्न र आफूलाई जोगाइराख्न थप आक्रामक नेतृत्वको शैलीको अवलम्बन गर्ने फोब्र्सको तर्क छ । अधिकारकर्मीहरुले यस्तो आक्रामक नेतृत्व शैलीलाई टक्सिक मास्कुलिनीटी (हानिकारक पुरुषत्व) नाम दिएका छन् ।

मनोविज्ञानको दृष्टिकोणबाट हेर्ने हो भने आफ्नो शक्तिको दुरुपयोग गरी अन्य महिला सहकर्मीहरुलाई प्रताडित गर्न नेतृहरु शक्ति र सम्मान हासिल गर्ने आफ्नै मनोवैज्ञानिक युद्धमा तल्लीन हुन्छन् । उनीहरुका लागि अन्य महिलाहरुलाई माथि उठ्न दिनु भनेको आफू तल गिर्नु सरह हो ।

महिलाहरु महिलाकै साख्ये बन्न सग्दैनन् भने पुरुषले मात्र महिलामाथि हिंसा गर्छ भनेर वेतुकका कुरा किन गर्दा हुन् ? आफूले अधिकार पाएपछि अरुले पाउन् कि नपाउन्म हिलाअधिकारकर्मीलाई के मतलव छ ररु महिला अधिकार र विकासका खोक्रा आर्दश साँधेर आफ्नो पोल्टो भर्ने मात्र काम गरेका छन् उनीहरुले । खासमा महिलाले महिलालाई नै आफ्नो शत्रु ठान्छन र त उनीहरु झन् झन् पछि धकेलिएका हुन् ।

यस्ता तर्क हाम्रो समाजमा पनि सर्वत्र सुनिन्छ । महिलाले खुलेआम महिला नेतृत्वको उपेक्षा नगरेपनि कोही महिला माथि पुगेको र अझै उसको अन्डरमा रहेर काम गर्न धेरैजसो महिलालाई कठिन नै हुन्छ । आफूले भोगेकोजस्तो अवस्था अरु महिलाले भोग्न नपरोस भन्ने सोच कमै मात्र महिलाको छ ।

आधिकार दिने कुरामा होइन अवसर गुमाउने कुरामा यस्तो उद्गार लगाएर विश्लेशण गरिन्छ । अधिकारविहिन आफूभन्दा साना र कमजोर माथि शासन गर्ने होडबाजी महिलामै बढि देखिन्छ । महिलाहरुले अघि वढ्ने र अधिकार पाउने नाममा महिलामाथि नै ज्याजती गर्ने प्रवृति अझैपनि हावी छ ।

महिला अधिकारका र न्यायका लागि लड्छु भन्ने महिला पनि आफ्नो झोली भरिएपछि अन्तै हराउँछन् । ‘हाम्रो पनि दिन आउँछ नआत्तिनुस’ भनेर अधिकारविहीन महिलालाई जग बनाई माथि उक्लनेहरु माथि नै रहे ।

उपेक्षितलाई उकास्नु त कता हो कता आफ्नै वर्गको खेदो खन्न तल्लिन रहे । शक्ति आफ्नो पोल्टामा पार्नका लागि महिलाहरु एक अर्कामा प्रतिस्पर्धा गर्छन् । यसो गर्दा आफूजस्तै अर्की महिला उपेक्षित भएको भुसुक्कै विर्सन्छन् ।

उ भन्दा म ठूलो भन्ने भ्रमले एक अर्का विच वेमल भैरहन्छ । कमजोर भनिएकाहरुसँग शक्ति संरचना परिवर्तन गर्ने आँट हैसियत रहँदैन । त्यसैले त उनीहरु आफूमाथिको दमनको प्रतिकार नजिकको प्रतिद्वन्द्वीसँग गर्छन् । अनि आफूजस्तै वर्गमाथि हैकम चलाउछन् । शत्रुता जन्माउँछन् । यही प्रवृतिले महिला महिलाविच गलत र पूर्वाग्रही विचार स्थापित हुन्छ ।

समाज कल्याण परिषद्को तथ्यांक अनुसार देशभर ५० हजार तीन सय ८५ वटा गैरसरकारी संस्था छन् । २०३४ सालदेखि २०७६ असार मसान्तसम्मस दर्ता भएका ति संस्था मध्ये दुई हजारको हाराहारीमा मात्र क्रियाशिल छन् । यी मध्ये अधिकांशले महिलाका मुद्दामा काम गर्छन् ।

अव प्रश्न उठ्छ के ति संस्थाले साँच्चीकै महिला अधिकारको आवज उठाएका छन् त ? दुरदराजमा पुगेर माहिलाको पीडामा मलम लगाएका छन् त ? छन् भने किन अझैपनि छाउगोठमा महिलाले ज्यान गुमाएका छन् ? वोक्सीको आरोपमा कुटिएका छन् ? दाइजोको निहुँमा महिलाहरु किन प्रताडित छन् ?

वास्तविकता त यो हो कि नेपालमा सञ्चालित एनजीओहरूको दीर्घकालिन नीति पनि छैन र कार्यशैली पनि छैन । नेतृत्वको व्यक्तिगत टकराब पनि उत्तिकै छ, एउटाले अर्कोलाई उपेक्षा गर्ने प्रवृति छ ।

पुरुष वा पितृसत्तालाई मात्र दोष दिएर महिला अधिकारको जग बसाल्न खोज्दा खास अधिकार पाउनुपर्ने वर्गको अधिकार भासिदै गएको छ । हाम्रो आनीबानी र व्यवहार सुधारिएको छैन । समाज सभ्य होईन, झन् बर्बर बन्दै गएको छ ।

त्यसैले महिला पुरुषको समविकास र सामाजिक न्याय स्थापना गर्न र महिला विरुद्धका विभिेद अन्त्य गर्न पहिले त महिला नै महिलाको हितैषी बन्न सक्नुपर्छ । होईन भने जमाना परिवर्तन हुन्छ, अधिकार खोस्न सक्नेले अधिकार प्राप्त पनि गर्न सक्छन । तर कमजोर वर्ग सधैँको पछाडी नै रहन्छन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi