neapl investment mega bank
  • गृहपृष्ठ
  • राष्ट्रिय सहकारी बैंकको वार्षिक समिक्षा सम्पन्न , १ अर्व ७ करोड मुनाफा गर्ने लक्ष्य

राष्ट्रिय सहकारी बैंकको वार्षिक समिक्षा सम्पन्न , १ अर्व ७ करोड मुनाफा गर्ने लक्ष्य

Aug 20th, 2020

ललितपुर, भदौ ४

राष्ट्रिय सहकारी बैंक लिमिटेडको वार्षिक समिक्षा तथा आगामी योजना सम्बन्धी २ दिने समिक्षा वैठक बिहीवार सम्पन्न भएको छ । दुई दिन सम्म सञ्चालित भर्चुअल वार्षिक समिक्षा वैठकले आर्थिक वर्ष २०७६/०७७ को वार्षिक समिक्षा गर्नुका साथै चालु आर्थिक वर्षका योजना तथा बजेट निर्माण गरेको छ ।

बैंकले चालु आर्थिक वर्ष २०७७/०७८ को अन्त्यसम्म १४ हजार ५ शेयर सदस्य, २ अर्ब ५० करोड शेयर पूँजि, ६० अर्ब निक्षेप ४२ अर्ब कर्जा लगानी गरी १ अर्ब ७ करोड मुनाफा आर्जन गर्न लक्ष्य लिएको छ । आर्थिक वर्ष २०७६/०७७ का लागि प्रस्तावित योजना पूर्ण रुपमा कार्यान्वयन गर्दै बैंकमा १२ हजार भन्दा बढी शेयर सदस्य २ अर्व २२ करोड शेयर पुँजि, ४७ अर्ब निक्षेप, २७ अर्ब कर्जा लगानी ८४ करोड मुनाफा आर्जन गर्न सफल भएको थियो ।

समिक्षा वैठकबाट चालु आर्थिक वर्षको लक्ष्य पुरा गर्नका लागि शाखाहरुलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्ने लगायतका विषयमा योजना निर्माण भएको बैंकका अध्यक्ष के.बी. उप्रेतीले जानकारी दिनुभयो । बैंकको लक्ष्य प्राप्तिका लागि सदस्य संघ संस्थाहरुको आवश्यकताका आधारमा सेवा प्रवाह गर्ने, सहकारी संघ संस्थाहरुको संस्थागत विकासका लागि वित्तीय लगायतका सेवाहरुलाई थप प्रभावकारी बनाइने भएको छ ।

सहकारी अभियानलाई व्यवस्थित र प्रभावकारी रुपमा अगाडि बढाउनक लागि जिल्ला तथा प्रदेश स्तरीय संघहरुको संस्थागत विकासमा समन्वय गर्ने, सहकारी संस्थाहरुको एकीकरणलाई प्रवद्र्धन गर्ने लगायतका कार्यक्रम वैठकले तय गरेको छ । बैंकले प्रदान गरेको कर्जा सदुपयोगिता अनुगमन तथा निरीक्षणलाई व्यवस्थित गर्ने, असल ऋणि कार्ड (ग्रिन कार्ड) वितरण गर्ने, व्यवसाय योजना तयार गरी परामर्श दिने लगायतका काम गर्ने योजना बैंकले बनाएको छ ।

समिक्षा कार्यक्रमको समापनका क्रममा बैंकका अध्यक्ष के.बी. उप्रेतीले बैंकले दिने सेवा सुविधामा कमि आउन नदिन तथा थप प्रभावकारी बनाउनका लागि वित्तीय तथा सेवाका बारेमा सचेत रहन व्यवस्थापन र शाखा प्रमुखहरुलाई आव्हान गर्नुभयो । बैंकले लिएको लक्ष्य पुरा गर्नका लागि सञ्चालक समितिले नीतिगत निर्णय गर्ने, व्यवस्थापनले योजना निर्माण गर्ने र शाखाहरुमार्फत कार्यान्वयन गरिने प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले बताउनुभयो ।

समिक्षा वैठकको पहिलो दिन ४४ वटा शाखा प्रमुखहरुले गत आर्थिक वर्षको यथार्थ अवस्था र चालु आर्थिक वर्षको वार्षिक लक्ष्य तथा लक्ष्य प्राप्तिका योजना प्रस्तुत गर्नु भएको थियो । दोस्रो दिन शाखा प्रमुखहरुले प्रस्तुत गरेका योजना तथा कार्यक्रममाथि छलफल गरी वार्षिक लक्ष्य तय गरिएको हो ।