neapl investment mega bank
  • गृहपृष्ठ
  • कोभिड–१९ सङ्क्रमण रोक्न उपत्यकामा थप कडाइ गरिँदै

कोभिड–१९ सङ्क्रमण रोक्न उपत्यकामा थप कडाइ गरिँदै

Aug 18th, 2020

काठमाडौँ, २ भदौ /रासस

मुलुकभर कोभिड–१९ को सङ्क्रमण बढेपछि उपत्यकामा जोखिम रोक्न यसअघि भएका निर्णय र लागू गरिएको स्वास्थ्य मापदण्डको कार्यान्वयनमा कडाइ गरिने भएको छ । त्यसका लागि आवश्यक निर्णय गर्न उपत्यकाको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा प्रमुखले छलफल जारी राख्नुभएको छ । “आगामी दिनमा कसरी जाने भन्नेमा छलफल जारी छ, यसअघि गरेका निर्णयलाई कडाइ गर्ने नै हो, अन्य कुराहरु निर्णय भएपछि मात्रै भन्न सकिन्छ ।”, भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले राससलाई भन्नुभयो । उहाँले अहिलेपनि छलफल जारी रहेको बताउनुभयो ।

कतिपय सञ्चार माध्यममा निषेधाज्ञा जारी गर्ने तयारी गरेका समाचार बाहिर आइरहेका बेला पाण्डेले निशेधाज्ञा भन्ने शब्द नभई निषेध गर्ने कुरा रहेको जानकारी गराउँदै अब प्रशासनले कडाइ गर्ने तयारी भने गरिएको बताउनुभयो । ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले अहिले छलफलकै क्रममा रहेको जानकारी दिनुभयो । “कोभिड–१९ को सङ्क्रमण कसरी रोक्न सकिन्छ भन्ने विषयमा छलफल चलिरहेको छ, निष्कर्ष बाँकी छ ।”, भट्टले भन्नुभयो । यसअघि काठमाडौँ उपत्यकाका तीन वटा जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सेवा स्थगन गरेका थिए ।

साउन ३० गते तीनवटै प्रशासन कार्यालयले कोरोना सङ्क्रमण बढ्दै जाँदा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै त्यसको रोकथाम तथा नियन्त्रणका लागि तत्काल थप सतर्कता अपनाउन विभिन्न निशेषको आदेश समेत जारी गरेको थियो । भदौ १५ गते राति १२ बजेसम्मका लागि काठमाडौँ जिल्लाभर लागू हुने गरी खुला स्थानमा मानिस भेला जम्मा हुन, भीडभाड गर्न, सभा जुलुस गर्न, भीडभाड हुने गतिविधि जस्तै जात्रा, महोत्व सञ्चालन गर्न, दैनिक हुने नित्य पूजाबाहेकका सम्पूर्ण धार्मिक गतिविधि, उद्योग व्यापार व्यवसायअन्तर्गत स्वास्थ्य मापदण्ड विपरीतका क्रियाकलाप गर्न निशेष गरिएको थियो ।

यस्तै चाडपर्व लगायतका धार्मिक सांस्कृतिक कार्य गर्नका लागि हुने जमघट, शैक्षिक संस्था सञ्चालन गर्न, सबै प्रकारका सभा, गोष्ठी, तालीम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल, शैलुन, ब्यूटी पार्लर, स्पा, स्वीमिङ पुल, जिमखाना समूहमा खेलिने खेलकुद र खेल प्रस्तुती, पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना सञ्चालन गर्न पनि निषेध गरिएको थियो । फुटपाथ, खुला ठाउँ र ठेला गाडा साइकल सञ्चालन हुने विभिन्न व्यवसाय, कवाडी सङ्कलन गर्न, उद्योग व्यवसाय सञ्चालनका लागि स्वास्थ्य मापदण्ड विपरीत श्रमिक कामदारको ओसारपसार गर्न, टेक वे बाहेक होटल रेष्टुराँ सञ्चालन गर्न निषेध गरिएको आदेशमा उल्लेख छ । तर, आदेश जारी गरिएपनि उपत्यकामा भीडभाड रोकिएको छैन भने जोखिम बढ्दो छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi