neapl investment mega bank

काठमाडौं उपत्यकामा थपिए १६८ संक्रमित

Aug 17th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ,१ भदौ

काठमाडौंमा थप १६८ जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उपत्यकामा १६८ जनाको पिसिआर पोजेटिभ आएको बताए ।

नयाँ संक्रमितमा काठमाडौंका १०९ ,भक्तपुरका १४  र ललितपुरका १५   जना रहेको प्रवक्ता गौतमले जानकारी दिए । आइतबार काठमाडौं उपत्यकामा एकैपटक १७२ संक्रमित थपिएका थिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ११ हजार ५२० जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या १५ हजार १९८ रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या ९ हजार ६३९ छ। पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लामा पर्सा, रौतहट, महोत्तरी,मोरंग र काठमाडौँ रहेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा १६० जनाले कोरोना जितेका छन् । योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या १७ हजार ४९५ पुगेको छ । त्यस्तै कोरोनाका सङ्क्रमित शून्य रहेका जिल्लामा सङ्खुवासभा, मनाङ, मुस्ताङ , हुम्ला र डोल्पा रहेका छन् । नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या १०७ पुगेको छ।

aadharbhumi
aadharbhumi
aadharbhumi