neapl investment mega bank
  • गृहपृष्ठ
  • रुकुम घटना: संसदीय छानबिन समितिको सिफारिसअनुसार राहत

रुकुम घटना: संसदीय छानबिन समितिको सिफारिसअनुसार राहत

Aug 13th, 2020

काठमाडौँ, २९ साउन /रासस

सोती घटना छानबिन संसदीय विशेष समितिको सिफारिसअनुरुप पश्चिम(रुकुम) सोती घटनाका मृतक परिवारलाई सरकारले प्रतिपरिवार रु १० लाख राहत दिने निर्णय भएको छ । यही साउन २६ गते सोमबारको मन्त्रिपरिषद् बैठकले सोतीमा भएको घटनामा हत्या गरिएका व्यक्तिका परिवारलाई प्रतिपरिवार उक्त राहत रकम दिने निर्णय गरेको थियो । गत जेठ १० गते पश्चिम९रुकुम०को चौरजहारी –८ सोतीमा भएको झडपमा गरी ज्यान गुमाएका परिवारलाई सरकारले राहत प्रदान गरेको हो ।

गत जेठ २६ गते बसेको प्रतिनिधिसभाको बैठकको निर्णयानुसार सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा नौ सदस्यीय सोती घटना छानबिन संसदीय विशेष समिति गठन भएको थियो । समितिले गत असार ३० गते सभामुख अग्निप्रसाद सापकोटालाई पेश गरेको प्रतिवेदनमा घटनाबाट प्रभावित मृतकका आश्रित परिवारलाई क्षतिपूर्ति तथा शिक्षा, स्वास्थ्य, रोजगारी, सुरक्षा एवं भरण पोषणको पूर्ण प्रत्याभूति गरिनुपर्ने सिफारिस गरेको थियो । यस्तै घाइते युवा, घटना र मुद्दाका विशेष साक्षी भएकाले उनीहरूको स्वास्थ्योपचार, सुरक्षा तथा क्षतिपूर्ति तत्काल उपलब्ध गराउन भनेको थियो ।

प्रतिवेदनको सिफारिसानुसार नै सरकारले निर्णय गरेपछि समितिका संयोजक देवेन्द्र पौडेलले समितिले गरेको मेहनतलाई सरकारले पूरा गरेकोमा धन्यवाद दिनुभएको छ । उहाँले समितिको छानविन टोली जाजरकोट पुग्दा भेरी नदिसँगै आँशुका बलिन्द्रधारा बगिरहेको स्मरण गर्दै सरकारी निर्णयले पीडित परिवारलाई केही राहत प्रदान गरेको बताउनुभयो ।

सदन नचलेका अवस्थामा संसदीय समितिले बुझाएको प्रतिवेदन सभामुखको आदेशानुसार कार्यान्वयनका लागि सङ्घीय संसद् सचिवालयले यही साउन ८ गते मुख्यसचिवमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पठाएको थियो । उक्त प्रतिवेदनका आधारमा सोती घटनाका मृतकका परिवारलाइ राहत दिने निर्णय भएको हो ।

समितिको प्रतिवेदनमा मृतकका परिवार आर्थिक–सामाजिक दृष्टिले अत्यन्तै कमजोर हुनाका साथै उनीहरूका कम उमेरका विधवा पत्नी र नाबालक सन्तान साथमा रहेकाले उनीहरूको भरणपोषण तथा जीविकोपार्जनका लागि तत्कालै विशेष व्यवस्था गर्नसमेत सिफारिस गरेको थियो ।

सोती घटनामा जाजरकोट भेरी नगरपालिका–४ का नवराज विक, गणेश बुढा मगर र सञ्जीव विकको मृत्यु भएको थियो । यस्तै भेरी –११ का लोकेन्द्र सुनार र गोविन्द शाही तथा चौरजहारी–१ का टीकाराम नेपाली गरी छ जनाको मृत्यु भएको थियो । सो घटनामा भेरी–४ का लालबहादुर खड्का, मदन शाह, सरोज भँडेल, आशिष विक र सुदीप खड्का घाइते हुनुभएको थियो । यस्तै भेरी–३ का विभाग पुन, इन्द्रजङ्ग शाही, भेरी –१३ का भोला बिसी, भेरी –११ का गोविन्द सुनार, भेर– ३ का महेश कार्की,। सल्यानको कुमाख–४ का डिल्ली विक र बाँकेको राप्ती सोनारी–४ का सुनिल सुनार घाइते हुनुभएको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi