आधारभूमि संवाददाता
काठमाडौं, साउन २९
लकडाउन अघिसम्म १४ प्रतिशतमा सेयर कर्जा दिने बैंकहरुले अहिले यस्तो कर्जा ४१ प्रतिशतले घटेर अहिले ८ दशमलव ३२ मै पाइन थालेको छ । अन्यत्र लगानीका संभावना नरहेकाले बैंकहरुले सेयरमा लगानी गरेर नाफा कमाउन खोजिरहेका छन् । तर उनिहरुको योजना भने सफल हुन सकिरहेको छैन ।
बैकिङ प्रणालीमा अधिक तरलता छ तर लगानीको नयाँ क्षेत्र छैन, यसकारण सेयर कर्जातिर बैंक सोझिएका छन् । दुई महिनायता सेयर धितोमा कर्जाको ब्याजदर औसतमा ३० देखि ३५ प्रतिशत घटेको छ ।
अहिले बैंकहरुले आधार ब्याजदरमै सेयर कर्जा दिएका छन् । आधार दरमा पाउनेहरु साना होइन ठूला खालका ऋणी हुन् ।
यो ५ महिनामा सेयर कर्जा निकै सस्तो भएको छ । सेयर खरिदका लागि प्रदान हुने कर्जा ५ वर्ष अघिकै अवस्थामा आएको छ । एकल अंक ब्याजदरमा ऋण पाइने भएपनि बजार महामारीले कस्तो रुप लिन्छ भन्ने एकिन नभएकाले सेयर लगानीकर्ताले बैंकबाट ऋण लिएका छैनन् ।
यसअघि ०७२ सालको विनाशकारी भूकम्प र भारतीय नाकाबन्दीपछि सेयर कर्जाको ब्याजदर एकल अंकमा झरेको थियो । अहिले पुनः त्यही अवस्था आएको छ ।
यसअघि सेयर कर्जामा खासै रुचि नराख्ने बैंकहरुले समेत अहिले सेयर कर्जाको प्रचार प्रसार गरिरहेका छन् । मेगा बैंकले ८ दशमलव तीन दुई मै कर्जा दिन सक्ने सेयरलगानीकर्ताहरुलाई बताइरहेको छ । नेपाल बैंकले पनि १२ बाट सेयर कर्जाको ब्याज झारेर अहिले ९ दशमलव नौ नौ कायम गरेको छ ।
बैंकमा अधिक निक्षेप जम्मा भएपछि बैंकहरुले अहिले अन्य कर्जा सँगै सेयर खरिदका लागि प्रदान गर्ने कर्जाको ब्याज पनि घटाएका छन् ।
बैंकहरुले ठूला खालका ऋणीलाई कम ब्याजमै अझ यस्तो कर्जा उपलब्ध गराएका छन् । प्रशासनिक खर्च कम लाग्ने भएकाले ठूला खालका ऋणीलाई कम र साना खालका ऋणीलाई धेरै ब्याज लिएका छन् ।
सेयर धितो राखेर सेयर नै खरिद गर्न प्रदान गरिने यस्तो कर्जाको स्वीकृति गर्न धेरै समय लाग्दैन । त्यसैले पनि बैंकहरुले तत्काल कर्जा बढाउनका लागि सेयर कर्जा प्रमुख उपायका रुपमा लिएका छन् ।