आधारभूमि संवाददाता
काठमाडौं, साउन २८
सुनको भाउँ बढ्ने आशमा नेपाली बजारमा पनि अहिले लगानीकर्ताहरु सुन तर्फ आकर्षित भएका छन् । गत एक हप्तामा १ सय किलो सुन बिक्री भएको छ । जबकी यसअघि एक हप्तामा मुस्कीलले तीन केजी सुन बिक्री हुन्थ्यो ।
महामारीका कारण अन्य क्षेत्रमा लगानी बढ्न नसकेपछि अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ता सुन तर्फ आकर्षित हुँदा यसको भाउ पछिल्लो समय ह्वात्तै बढेको छ ।
अहिले दैनिक १४ किलो सुन खरिद भइरहेको छ । जबकी दुई साता अघि त एक सातामै मुस्कीलले ३ केजी सुनको बिक्री हुन्थ्यो । पछिल्लो समय सुनको बिक्री बढेपनि गत वर्षको यही अवधिकै हाराहारीमा भने कारोबार हुन सकेको छैन ।
गत वर्षको यहि अवधिमा भने दिनकै ३० देखि ३५ किलो सुन बिक्री हुन्थ्यो । चैत १९ भन्दा अघि बैंकहरुले विदेशबाट दैनिक २० किलोग्राम सुन खरिद गर्ने गर्थे । तर चैत १९ गते बसेको मन्त्रीपरिषद्को बैठकले भने दैनिक १० किलो मात्रै सुन किन्न पाउने व्यवस्था गरेको छ ।
गत चैतमा बैंकहरुसँग ३ सय ८० केजी सुन स्टकमा रहेको थियो । तर अहिले भने घटेर १ सय ८० किलो मात्रै बाँकि छ । सुनको मागै नभएपछि बैंकहरुले चैत महिनायता त विदेशबाट सुन नै खरिद गरेका छैनन् ।
तिज नजिकिदै गरेकाले पनि अहिले सुन खरिद गर्नेहरु बढेका हुन् । यो वर्ष ठूला खालका गरगहना भन्दा साना खालका गरगहनामा ग्राहकको आकर्षण बढेको छ ।
सुनको भाउ आकासिने भयका कारण केहिले त बिहेका लागि आवश्यक पर्ने गरगहना समेत अहिले नै खरिद गरिरहेका छन् । त्यस्तै केहि लगानीकर्ताहरुले आगामी दिनमा सुनको भाउ बढ्ने र लगानीका हिसाबले फाइदाजन रहेको ठान्दै अहिले ढिका सुन समेत किनेर राख्न थालेका छन् । जसका कारण नै सुनको खपतमा बृद्धि भएको हो ।
सुनको भाउ निरन्तर आकासिन्छ भन्ने केहि निश्चीत छैन । कोरोना महामारी केहि नियन्त्रणमा आए लगानीकर्ताहरुले सुन बेचेर अन्य क्षेत्र तिर लगानी गर्न सुरु गर्नेछन् । त्यसैले अत्यावश्यक बाहेक सुन खरिद गरेर राख्नु भने त्यति उचित देखिदैन ।
अन्तर्राष्ट्रिय बजारमा सुन तोलाको १ लाख ५० हजार रुपैयाँमा कारोबार हुने अनुमान छ । यही अनुमानका कारण पनि लगानीकर्ता सुनमा आकर्षित भएका हुन् ।