neapl investment mega bank

काठमाडौं उपत्यकामा थपिए ४४ संक्रमित

Aug 10th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, २६ साउन

काठमाडौंमा थप ४४ जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उपत्यकामा ४४ जनाको पिसिआर पोजेटिभ आएको बताए ।

नयाँ संक्रमितमा काठमाडौंका ३६ ,भक्तपुरका ४ र ललितपुरका ४ जना रहेको प्रवक्ता गौतमले जानकारी दिए । आइतबार काठमाडौं उपत्यकामा एकैपटक ९२ संक्रमित थपिएका थिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा २७ वटा प्रयोगशालामा पीसीआर विधिबाट आठ हजार ४ सय ३२ जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या १० हजार ७५९ रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या ६ हजार ७ सय ३८ छ। पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लामा पर्सा, रौतहट, महोत्तरी र काठमाडौँ रहेका छन् । हालसम्म ४ लाख ५२ हजार २३६ व्यक्तिहरुको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १४० जनाले कोरोना जितेका छन् । योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या १६ हजार ४ सय ९३ पुगेको छ । त्यस्तै कोरोनाका सङ्क्रमित शून्य रहेका सात जिल्लामा सङ्खुवासभा, भोजपुर, हुम्ला , धनकुटा, मनाङ, मुस्ताङ र डोल्पा रहेका छन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi