आधारभूमि संवाददाता
काठमाडौँ, २६ साउन
नेपालमा थप ३३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका ३६ वटा प्रयोगशालामा आठ हजार ४ सय ३२ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए। यो सँगै सङ्क्रमितको सङ्ख्या २३ हजार ३१० पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा २७ वटा प्रयोगशालामा पीसीआर विधिबाट आठ हजार ४ सय ३२ जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या १० हजार ७५९ रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या ६ हजार ७ सय ३८ छ। पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लामा पर्सा, रौतहट, महोत्तरी र काठमाडौँ रहेका छन् । हालसम्म ४ लाख ५२ हजार २३६ व्यक्तिहरुको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।
थप १४० जना डिस्चार्ज
नेपालमा पछिल्लो २४ घण्टामा १४० जनाले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालाबाट १४० जना डिस्चार्ज भएको बताए ।
योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या १६ हजार ४ सय ९३ पुगेको छ । त्यस्तै कोरोनाका सङ्क्रमित शून्य रहेका सात जिल्लामा सङ्खुवासभा, भोजपुर, हुम्ला , धनकुटा, मनाङ, मुस्ताङ र डोल्पा रहेका छन् ।