neapl investment mega bank
  • गृहपृष्ठ
  • उपत्यका प्रवेशमा रोक्न साँगा नाकामा कडाइ

उपत्यका प्रवेशमा रोक्न साँगा नाकामा कडाइ

Aug 10th, 2020

भक्तपुर, २६ साउन /रासस

विभिन्न जिल्लाबाट साँगा नाका हुँदै उपत्यका प्रवेश गर्न रोक लगाइएको छ । उपत्यकामा कोभिड–१९ को जोखिम बढ्दै गएपछि उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरिएको हो । महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख एवं प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले विभिन्न जिल्लाबाट साँगा नाका हँुदै उपत्यका प्रवेश गर्न रोक लगाएको जानकारी दिनुभयो । साँगा र बनेपाबाट नाला हँुदै भक्तपुर प्रवेश गर्ने नाकामा समेत कडाइ गर्दै एम्बुलेन्स र दमकललगायत अत्यावश्यक सवारी साधनबाहेक अरूलाई रोक लगाएको उहाँको भनाइ छ ।

विभिन्न जिल्लाबाट निजी र रिजर्भ गाडीमा आएका यात्रुलाई साँगाबाट फर्काउने गरेको बताउँदै प्रनाउ जोशीले पैदल यात्रीलाई समेत रोक लगाएको बताउनुभयो । उहाँले साँझ ७ देखि बिहान ७ बजेसम्म एम्बुलेन्स र दमकलबाहेकका सबै प्रकारका यातायातका साधनलाई प्रवेशमा रोक लगाएको बताउनुभयो । पास भएका सवारी साधन पनि साँझ ७ बजेदेखि प्रवेश गर्न पाउने छैनन् ।

ढुवानीका साधन भने राति १० देखि बिहान ४ बजेसम्म मात्रै सञ्चालन गर्न पाउनेछन् तर ढुवानीका साधनमा पनि एक चालक र एक सहचालकबाहेक अरू व्यक्ति रहेको पाइए प्रवेशमा रोक लगाइने प्रनाउ जोशीले बताउनुभयो ।

प्रहरीले राति ९बजेभित्र सम्पूर्ण नागरिकलाई आफ्नो घर पुगिसक्न आह्वान गरेको छ । राति ९ देखि बिहान ५ बजेसम्म कुनै पनि निजी तथा सार्वजनिक यातायात सञ्चालन गर्न र पैदल यात्रुलाई समेत रोक लगाएको छ । प्रनाउ जोशीले भन्नुभयो, “राति ९ देखि बिहान ५ बजेसम्म तोकिएको बाहेक कुनै पनि यातायात सञ्चालन गर्न पाइने छैन, त्यो अवधिमा पैदल यात्रीलाई समेत हिँड्डुल गर्न रोक लगाएका छौँ, त्यसैले ९ बजेभित्र सबैजना आ–आफ्नो घर पुगिसक्न आग्रह गर्दछौँ ।” ९ बजेपछि कुनै पनि पसल, होटल, रेष्टुरेष्ट सञ्चालनमा रोक लगाइएको छ । काभ्रेबाट उपत्यका प्रवेश गर्नेको हकमा नागरिकता वा परिचयपत्र वाहकलाई मात्र प्रवेश गर्न दिएको छ ।

केही दिनअघि नमूनाका रुपमा साँगा नाकाबाट प्रवेश गर्ने ६३ जनाको स्वाब सङ्कलन गरी परीक्षण गर्दा १३ जनामा कोरोना भाइरस सङ्क्रमण पाइएपछि सरकारले उपत्यका प्रवेश गर्ने नाकालाई कडाइ गरिएको हो । लकडाउन खुलेसँगै विभिन्न जिल्लाबाट उपत्यका प्रवेश गर्नेको भीडसँगै कोरोना सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको पाइएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये उपत्यका बाहिरबाट आउने ६३ प्रतिशत रहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi