आधारभूमि संवाददाता
काठमाडौं, साउन २६
निक्षेप थुप्रिएपछि बैंकहरुले अहिले निक्षेप र कर्जा दुबैको ब्याज करिब २ प्रतिशतले घटाएका छन् । तर पनि लगानीकर्ताहरु बैंकमा ऋण खोज्न आएका छैनन् । बरु बैंकमा पैसा जम्मा गर्न आउनेहरुकै लर्काे छ ।
राष्ट्रिय बाणिज्य बैंकले असार मसान्तमा ९ प्रतिशत रहेको घरकर्जाको ब्याज अहिले खुम्चाएर ७ दशलमव दुुई पाँचमा झरेको छ । जसबाट ब्याज घटेको प्रष्ट नै हुन्छ । साथै त्यस्तै घरेलु कर्जा ९ दशमलव ५० शुन्य रहेकामा अहिले ८ दशमलव ५० कायम गरेको छ।
असार मसान्त सम्ममा बाणिज्य बैंकले लिने सबैभन्दा उच्च ब्याज १० दशमलव ४७ प्रतिशत थियो । जुन अहिले घटेर ९ दशमलव तीन दुईमा झरेको बैंकका अधिकारीहरु बताउँछन् ।
नेपाल बैंकले पनि सेयर खरिदका लागि प्रदान गर्ने मार्जिन लोनको ब्याज १२ प्रतिशतबाट घटाएर ९ दशमलव ९९ कायम गरेको छ ।
समथै साना व्यवसायमा प्रदान गर्ने कर्जा माइक्रो क्रेडिटको ब्याज पनि ११ बाट घटाएर ८.९९ पुराएको छ । बैंकहरुले अहिले कर्जाको मात्रै होइन निक्षेपको ब्याज पनि दुई प्रतिशतले नै घटाएका छन् ।
अन्य स्थानमा लगानी गर्ने वातावरण नभएकाले गर्दा बैंकमा अहिले १ खर्ब ९० अर्ब अधिक तरलता छ । जसका कारण बैंकहरुको कर्जा पुँजी निक्षेप अनुपात ७२ प्रतिशत कायम भएको छ । जबकी यसअघि ७९ प्रतिशत र कहिले काहि त ८० को सिमा समेत नाघ्ने गर्दथ्यो ।
कोरोना महामारीका कारण ब्यापार व्यसाय खुलेपनि राम्रो सँग चल्न सकेका छैनन् । त्यसैले अहिले जो कोहि पनि लगानी गर्न हिच्किचाई रहेका छन् । र धेरैजसो पैसा बैंकमा थुप्रिएको छ। अधिक तरलता बढ्दै गएपछि गत साता मात्रै नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ रिभर्स रिपो मार्फत बजारबाट खिच्यो ।
७ दिनमा फेरी बजारमै फर्किने यस्तो रकम साउन यता मात्रै राष्ट्र बैंकले तीन पटक खिचिसकेको छ। तर पनि अहिले बजारमा १ खर्ब ९० अर्ब बराबरको अधिक तरलता छ ।
राष्ट्र बैंकले रिभर्स रिपो मार्फत खिचेको रकम पनि जोड्ने हो भने यो झन्डै २ खर्ब २० अर्ब भन्दा माथि हुन आउँछ । कृषि क्षेत्र बाहेक अन्य क्षेत्रबाट कर्जाको मागै भएको छै्रन ।
महामारी बढिरहेकाले तत्काल निजी क्षेत्रबाट कर्जाको माग बढ्ने देखिदैन । त्यसैले बैंकमा रहेको अधिक तरलता कम गर्नका लागि सरकारले अघि बढाएका आयोजनामा तिब्रता दिन जरुरी छ । जसले आयात बढाउनेछ र तरलता कम हुनेछ ।