काठमाडौं, साउन २४
चन्द्रागिरी नगरपालिका ६ थानकोटस्थित सनराईज ईन्जिनियरिङ्ग वर्कसप नजिकबाट चोरीका सामान ओसारपसार गरिरहेको अबस्थामा ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका ८ तिलगंगा बस्नेहरू झापा ईटहरी घर भएका १९ वर्षीय छिरीङ लामा, भारत मोतिहारी घर भएका १९ वर्षीय सुरज गिरी, भारत मोतिहारी घर भएका १९ वर्षीय कुन्दन गिरी र भारत मोतिहारी घर भएका १९ वर्षीय सुमित गिरी रहेका छन् ।
शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले फेला पारी खानतलासी गर्दा १२ थान फलामको हाईड्रोलिक पाईप, ४० थान हरियो सकेट, २ थान पिटी पम्प सानो, २ थान पिटी पम्प ठुलो, ६ थान ब्राईकेट, २ थान एल ब्राईकेट, २ थान कवलिङ्ग, अंग्रेजीमा डण् लेखिएको ३ थान फलामको ढिक्का सहित फेला पारी उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
उनीहरुले उक्त सामानहरु सनराईज ईन्जिनियरिङ्ग वर्कसपबाट चोरी गरेको तथा उक्त सामानहरूको अनुमानित रकम १ लाख ५० हजार रूपैयाँ रहेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । उनीहरू उपर मुलुकी अपराध संहिता, २०७४ बमोजिम चोरी सम्वन्धि कसुरमा थप अनुसन्धान भइरहेको उक्त वृत्तले जनाएको छ ।