आधारभूमि संवाददाता
काठमाडौँ, २४ साउन
नेपालमा थप ३७८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका २७ वटा प्रयोगशालामा सात हजार सात सय ८८ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए। यो सँगै सङ्क्रमितको सङ्ख्या २२ हजार ५९२ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा २७ वटा प्रयोगशालामा पीसीआर विधिबाट सात हजार सात सय ८८ जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या १० हजार ७९२ रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या ६ हजार ३३० छ। पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लामा काठमाडौँ ,पर्सा , कैलाली , महोत्तरी र रौतहट रहेका छन् । हालसम्म चार लाख २७ हजार ९२६ जनाको पिसिआर परीक्षण भएको पनि मन्त्रालयले जनाएको छ ।
थप ४९९ जना डिस्चार्ज
नेपालमा पछिल्लो २४ घण्टामा ४९९ जनाले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालाबाट ४९९ जना डिस्चार्ज भएको बताए ।
योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या १६ हजार ३१३ पुगेको छ ।हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ। सङ्क्रमितहरु नहुने जिल्लामा खोटाङ, धनकुटा ,संखुवासभा, मनाङ , मुस्ताङ ,डाेल्पा र हुम्ला रहेका छन् ।