आधारभूमि संवाददाता
काठमाडौँ, २३ साउन
नेपालमा थप ४६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका २७ वटा प्रयोगशालामा ७ हजार ९२६ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए। यो सँगै सङ्क्रमितको सङ्ख्या २२ हजार २१४ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा २७ वटा प्रयोगशालामा पीसीआर विधिबाट ६ हजार ६२२जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या १० हजार २०७ रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या ६ हजार ३३० छ। पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लामा
काठमाडौँ ,पर्सा , कैलाली , महोत्तरी र रौतहट रहेका छन् । हालसम्म चार लाख २७ हजार ९२६ जनाको पिसिआर परीक्षण भएको पनि मन्त्रालयले जनाएको छ ।
थप ४२५ जना डिस्चार्ज
नेपालमा पछिल्लो २४ घण्टामा ४२५ जनाले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालाबाट ४२५ जना डिस्चार्ज भएको बताए ।
योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या १५ हजार ८१४ पुगेको छ ।हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ। सङ्क्रमितहरु नहुने जिल्लामा खोटाङ, धनकुटा ,संखुवासभा, मनाङ , मुस्ताङ र रुकुम पश्चिमी रहेका छन् ।