आधारभूमि संवाददाता
काठमाडौं ,२० साउन
सरकारले १२० दिन लामो लकडाउन खुला गरेसंगै कोराना संकमितको संख्या बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा नेपालमा २ सय ५९ जनामा कोरोना भाइरस देखिएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ९ जना पुगेको छ । आजमात्र काठमाडौंमा ६२ जनामा कोरोना संक्रमण देखिएको छ ।
लकडाउन अन्त्य भएको १३ दिन सम्ममा २ हजार ७ सय ५६ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
लकडाउन अन्त्य हुनुपूर्व सोही अवधिको तथ्यांक अनुसार जम्मा १ हजार ५ सय ७१ जना संक्रमित थपिएका थिए। यो तथ्याकं हेर्दा लकडाउन खुलेपछि झन्डै दोब्बर संख्याले कोरोना संक्रमित भेटिएको देखिन्छ ।
लकडाउन खुलेसँगै संक्रमण दर पनि बढ्दै गएको छ। साउन १२ गतेसम्म संक्रमित संख्या एक सय वरिपरिमै सीमित भएको थियो भने साउन १३ गते संक्रमण दर दोब्बरले वृद्धि भएको छ ।
सरकारले लकडाउन अन्त्यको घोषणा गरेसँगै विज्ञहरूले जोखिम बढ्ने र सतर्क नरहे स्थिति घातक हुनसक्ने चेतावनी दिएका थिए। लकडाउन अुलेसंगै बजारमा मानिसको भिड बढेको कारण संक्रमणको जाखिम पनि बढेको छ ।
विज्ञले दिए यस्तो सुझाव
कोरोनाको जोखिम बढेसंगै प्रधानमन्त्री केपी शर्मा ओलीलाई विज्ञहरुले दुई साता लकडाउन गर्न सुझाव दिएका छन् ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विज्ञहरुले कम्तिमा २ साता लकडाउन गर्न सुझाव दिएका हुन् ।
विज्ञहरुले ओलीलाई दुई हप्ता लकडाउन गर्न सुझाएको वताइएको छ । उनीहरुले लकडाउन गर्न बाहेको विकल्प नभएको बताएका छन् ।
विज्ञहरुको यो सुझावमा ओली सहमत भएको बैठकमा सहभागीले एक सदस्यले वताएका छन् । प्रधानमन्त्रीले कोरोनाको जोखिम झन बढ्दै गएकोले सबैले मिलेर यसको न्यूनिकरण गर्नु पर्ने भन्दै विज्ञहरुको सुझावलाई सकारात्मक रुपमा लिएको स्रोतले जनाएको छ ।
पछिल्लो समय कोरोना भाइरसका संक्रमित बढ्न थालेपछि जनस्तरबाट समेत सरकारले फेरि लकडाउन गर्नु पर्ने आवाज उठिरहको छ ।
यसैविच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वसाधारणहरुर्लाइ अनावश्यक रुपमा बाहिर हिडडुल नगर्न आग्रह गरेको छ ।
मन्त्रालयले आज एक सूचना जारी गरी अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन, भिडभाड नगर्न आग्रह गरेको हो ।
मन्त्रालयले संक्रमितहरुको सम्पर्कमा गएकाहरुले नजिकको स्वाव संकलन केन्द्रमा गएर स्वाव संकलन गराउन अनुरोध गरेको छ ।