neapl investment mega bank
  • गृहपृष्ठ
  • तनहुँमा रोकिएन चितुवाको आक्रमण, गएराति एक बालिका घाइते

तनहुँमा रोकिएन चितुवाको आक्रमण, गएराति एक बालिका घाइते

Aug 2nd, 2020

दमौली, १८ साउन /रासस

तनहुँको आँबुखैरेनी गाउँपालिका–१ समस्तीपुरमा गएराति चितुवाको आक्रमणबाट एक बालिका घाइते भएकी छन् । घाइते हुनेमा १० वर्षीया अमिषा थापा रहेको डिभिजन वन कार्यालयले जनाएको छ । घरको आँगनमा बसिरहेको बेला चितुवाको आक्रमणबाट घाइते भएकी बालिकालाई राति नै उपचारका लागि भरतपुर पठाइएको कार्यालयका प्रमुख केदार बरालले जानकारी दिनुभयो । उनीको घाँटीमा चोट लागेको छ ।

हजुरबुवा धनबहादुर पन्तको घरमा बसिरहेकी ती बालिका सोही ठाउँको चन्द्रोदय माध्यमिक विद्यालयमा कक्षा ३ मा अध्ययनरत छिन् । “रातिको समयमा घरको आँगनमा बसेका बेला चितुवाले आक्रमण गरी बालिकालाई घाइते बनाएको छ, रातको समय भएकाले चितुवाले आक्रमण गर्न सजिलो हुने हुनाले विशेष सतर्कता अपनाउनुपर्छ”, प्रमुख बरालले भन्नुभयो ।

विसं २०७४ फागुनयता चितुवाको आक्रमणबाट नौ बालबालिकाले ज्यान गुमाएका छन् । पछिल्लोपटक गत वैशाख २५ गते भानु नगरपालिका–४ चुँदीमा चितुवाको आक्रमणबाट स्थानीय ३६ वर्षीय रामबहादुर कुमाल घाइते हुनुभएको थियो । त्यसयता चितुवाको आक्रमण रोकिएकामा पुनः चितुवाको आक्रमणबाट शुरु भएपछि स्थानीयवासी त्रसित छन् ।

चितुवाका आहारा प्रजाति मृग, बँदेल, खरायो, वनकुखुरा आदि वनमा लोप हुँदै गएपछि चितुवा बस्तीमा प्रवेश गरी बालबालिकामाथि आक्रमण गर्न थालेको डिभिजन वन प्रमुख बरालको भनाइ छ । “ठूला मान्छेलाई भन्दा साना बालबालिकालाई आक्रमण गर्न सजिलो हुने भएकाले चितुवाको निशानामा बालबालिका पर्दै गएको देखिन्छ”, उहाँले भन्नुभयो, “साँझको समयमा चितुवा आक्रमण हुने भएकाले त्यसबेला विशेष ध्यान पु¥याउनुपर्छ ।”

यसैवीच लायन्स क्लब इन्टरनेशनल ३२५ बी–१ नेपाल डिष्ट्रिकअन्तर्गतको क्लष्टर १४ र लायन्स क्लब अफ काठमाडौँ स्वयम्भू टाउनले तनहुँको भानु र व्यास नगरपालिकाका पहिरोपीडितलाई सहयोग गरेको छ । क्लबले भानु–९ सिमलगैह्रा र व्यास–९ माझफाँटका पहिरोपीडितलाई रु एक लाख १५ हजार नगद र लत्ताकपडासहितका सामग्री सहयोग गरेको हो ।

सिमलगैह्राका पहिरोपीडितलाई रु ४५ हजार र माझफाँटका पहिरोपीडितलाई रु ७० हजार उपलब्ध गराइएको क्लष्टर १४ का प्रमुख राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । उक्त रकम क्लबले भानु–९ का वडाध्यक्ष निलमसञ्जीवा श्रेष्ठ र व्यास–९ का वडाध्यक्ष सुरेश थापालाई हस्तान्तरण गरेको छ । पहिरोले पुरिएर सिमलगैह्रामा एकै परिवारका दुई र माँझफाँटमा एकै परिवारका तीन जनाको अकालमा निधन भएको थियो । माझफाँटमा एक पहिरोले पुरिएर अझै बेपत्ता छन् ।

पहिरोपीडितलाई सहयोग गर्न लायन्स क्लब इन्टरनेशनल ३२५ बी–१ नेपाल डिष्ट्रिकले रु ५० हजार र लायन्स क्लब अफ काठमाडौँ स्वयम्भू टाउनले रु एक लाख ३० हजार सहयोग गरेको छ । क्लबले म्याग्दे र भीमादका पहिरोपीडितलाई पनि आर्थिक सहयोग गर्ने जनाएको छ ।

मास्क प्रयोग नगर्नेलाई कारवाही

मास्क प्रयोग नगरी हिँडडुल गर्ने ३३० जनालाई प्रहरीले कारवाही गरेको छ । बुधबारदेखि शनिबारसम्म ती व्यक्तिलाई कारवाही गर्दा रु ३३ हजार राजश्व सङ्कलन भएको छ ।

प्रहरीले शनिबार १००, शुक्रबार ५८, बिहीबार ७२ र बुधबार १०० लाई कारवाही गरेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । “जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले पहिलो चरणमा मास्क प्रयोगका लागि सचेतना कार्यक्रम सञ्चालन गरेको थियो”, उहाँले भन्नुभयो, “तर उक्त अनुरोधलाई कार्यान्वयन नगरेको पाइएपछि कारवाही गर्ने अभियान शुरु गरेका छाँै ।” उहाँका अनुसार कारवाहीमा परेकालाई कोरोना भाइरसबारेमा पूर्णरूपमा जानकारीसमेत गराइएको छ ।

नदीले बगाएर एक बेपत्ता

तनहुँको व्यास नगरपालिका–५ स्थित सेती नदीले बगाएर शनिबार एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा व्यास नगरपालिका–१ डाँडागाउँ बस्ने ३५ वर्षीय रामकुमार दर्जी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पौडी खेल्ने क्रममा बगाएर बेपत्ता भएका दर्जीको खोजी भइरहेको कार्यालयका प्रहरी नायब उपरीक्षक तिमिल्सिनाले जानकारी दिनुभयो । बेपत्ताको खोजीका लागि प्रहरी र स्थानीयवासी परिचालित छन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi