neapl investment mega bank

राप्रपाले पायो आईडियू को सदस्यता

Jul 30th, 2020

काठमाडौ, साउन १५

राष्ट्रिय प्रजातन्त्र पार्टीले सम्वद्र्धनवादी राजनीतिक दलहरुको छाता संगठन “इन्टरनेशनल डेमोक्राटिक युनियन” को सदस्यता प्राप्त गरेको छ । युनियन कार्य समितिको भर्चुअल बैठकले सदस्यता दिने निर्णय गरेको हो । क्यानडाका पूर्व प्रधानमन्त्री स्टेफन हार्परको अध्यक्षतामा बसेको बैठकमा राप्रपालाई सदस्यता दिने प्रस्ताव अष्ट्रेलियाका सत्तारुढदल लिवरल पार्टी अफ अष्ट्रेलियाले गरेको थियो भने माल्दिभ्सका पूर्व राष्ट्रपति मोहम्मद नसिरले स्वागत र समर्थन गरेका थिए । नसिरले दक्षिण एशियाली मुलुकबाट थप सदस्य भएकोमा खुसी समेत व्यक्त गरेका थिए ।

विश्वका ७६ कन्जरभेटिभ राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको बैठकमा राप्रपा अध्यक्ष कमल थापा सहभागी थिए । बैठकमा बोल्दै अध्यक्ष थापाले संसारका सवै मुलुकहरुको आर्थिक विकास, शान्ति र स्वतन्त्रतामा विश्वास राख्दै प्रजातन्त्र, स्वतन्त्रता र मानवअधिकारका क्षेत्रमा थप चुनौतिहरु देखा परेको चर्चा सहित सम्बद्र्धनवादी पार्टीहरुको एकता र सहकार्यको आवश्यकता झन् बढेर गएको बताए । थापाले उदाउँदो प्रजातन्त्रलाई सहयोग गर्दै थप मजबुत र सुदृढ तुल्याउन आईडियुको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । युनियनको मुल्य, मान्यताप्रति राप्रपाप्रति वद्ध रहेको भन्दै थापाले विश्वासका साथ सदस्यता प्रदान गरि सहकार्यको निम्तिअवसर प्रदान गरेकोमा युनियन र सम्बद्ध सवैलाई आभार समेत व्यक्त गरे ।

संयुक्त राज्य अमेरिकाको वासिङ्गन डिसिमा आयोजना हुने बैठक कोभिड–१९ का कारण भर्चुअल बैठक गरिएको हो । बैठकले नेपाल सहित युक्रेन, स्वीडेन, अल्वानिया र नाइजेरियाका राजनीतिक दललाई सदस्यता प्रदान गरेको हो । युनियनको आगामी अन्तराष्ट्रिय सम्मेलनले यो निर्णयको अनुमोदन गर्दै राप्रपालाई पूर्ण सदस्यता प्राप्त हुने पार्टीका नेता राजाराम बर्तोलाले जानकारी दिए ।